विराटनगरमा कृषि तथा औधोगिक अन्तर्राष्ट्रिय एक्स्पो हुने
विराटनगर - उद्योग संगठन विराटनगरले आगामी माघमा विराटनगरमा विराट एक्स्पो (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) गर्न आवश्यक तयारी अघि बढाएको छ । सातौं संस्करणको एक्स्पो रुपमा आगामी माघ २६ देखि फागुन ३ गतेसम्म एक्स्पो आयोजना गर्न लागिएको संगठनले जनाएको छ ।
संगठनका महानिर्देशक चुडामणि भट्टराईले एक्स्पोको तयारी आन्तरिक रुपमा अघि बढिसकेको जानकारी दिए । उनले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विगतकै एक्स्पो र प्रदर्शनीहरूको निरन्तरता स्वरूप उद्योग संगठनले एक्स्पो आयोजना गर्न लागेको बताए ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आलोपालो गरेर विराटनगरमा एक्स्पोहरू आयोजना गर्दै आएका छन् । आगामी एक्स्पो आयोजनाको पालो संगठनको भएकोले तयारी अघि बढाइएको भट्टराईले बताए ।
संगठनले २०५३ सालदेखि कोशी महोत्सवबाट विराटनगरमा एक्स्पोको सुरुवात गरेको थियो । त्यसपछि २०५७ मा पूर्वाञ्चल व्यापार मेला, २०६२ मा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी आयोजना गरिएको थियो । त्यसयता संगठनले आफ्नो पालोमा २०६६, २०७३ र २०७६ मा समेत विराट एक्स्पो आयोजना गरेको थियो । आगामी एक्स्पोमा करीव ४०० वटा स्टल रहने जनाइएको छ ।
स्टलहरूमा १४ वटै जिल्लाको प्रमुख कृषि, त्यहाँका उद्योगको उत्पादन र पर्यटकीय क्षेत्र झल्किने डिस्प्लेहरू राखिने जनाइएको छ । एक्स्पोलाई पृथक बनाउन यस पटक क्षेत्रगत सेमिनार, दैनिक पर्यटकीय गन्तव्य प्याकेज, 'बिटुबि' बैठक, स्थानीय फुड फेस्टिभल र विभिन्न जातजातिको भेषभुषालाई समावेश गरी सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।
त्यसको विस्तृत खाका बन्दै गरेको महानिर्देशक भट्टराईले बताए । डिस्प्लेमा प्रदेशको सूचनामूलक जानकारीहरू राखिने छ । एक्स्पो अवधिमा राखिने सेन्ट्रल डिस्प्लेमार्फत सम्बन्धित जिल्लाहरूको उत्पादन प्रवर्द्धक गरिने जनाइएको छ ।
एक्स्पो अवधिमा बेलुका साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिने छन् । मनोरञ्जनका लागि उपयुक्त हुने हेलिकप्टरको सुविधासहित अन्य व्यवस्थाहरूसमेत एक्स्पोमा राखिने जनाइएको छ । मुलुकभरिको औद्योगिक उत्पादनहरूका साथै सार्क राष्ट्रका प्रदर्शनकर्ताहरूको समेत सहभागिता रहने भएकोले आर्थिक एवं औद्योगिक प्रवद्र्धनमा एक्स्पोले सहयोग पुर्याउने महानिर्देशक भट्टराईले दाबी गरे ।
साताव्यापी सञ्चालन हुने एक्स्पोमा २० भन्दा बढी क्षेत्रका तीन सय बढी स्टल रहनुका साथै झापा, मोरङ र सुनसरी लगायत भारतको सिमावर्ती क्षेत्रबाट तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको जनाइएको छ ।
एक्स्पोले औद्योगिक उत्पादनको प्रवर्द्धक, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायिक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादकत्व र उपभोक्ताबीचको सम्बन्ध विस्तार, उत्पादकहरूबीच स्वस्थ्य प्रतिस्पर्धा, सम्भावित बजार र प्रविधिको पहिचान, लगानीमैत्री वातावरण निर्माण आदिमा सहयोग पुर्याउने उद्देश्य राखेको उद्योग संगठनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया