अर्थ / बाणिज्य

उद्योग वाणिज्य संघ पोखरामा पवन प्यानल हाबी

इकागज |
भदौ २७, २०७९ सोमबार १३:० बजे

पोखरा - पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनमा भएको मतपरिणाम अनुसार अध्यक्षमा प्रजापतीसँगै पदाधिकारी र सदस्यमा समेत उनको प्यानलले वर्चश्व कायम गरेको हो । 

अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७१६ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्यकालका लागि निर्वाचित प्रजापती निर्वाचित भएका हुन् । कुल खसेको २ हजार ५ सय ४९ मतमध्ये १ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । अर्जुनले ८ सय ९७ मत ल्याए । मतपरिणाम अनुसार उद्योगतर्फको उपाध्यक्ष र खुला ४ सदस्यबाहेक सबैमा पवन प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 


संघको वरिष्ठ उपाध्यक्षमा प्रजापती प्यानलका गोकर्ण कार्की निर्वाचित भए । उनले १७१३ मत ल्याउँदा प्रत्यासी हरिहर सापकोटाले ७३८ मत प्राप्त गरे । उपाध्यक्ष (उद्योग) मा पोखरेल प्यानलका देवेन्द्र केसी विजयी भए । युवा व्यवसायी केसीले चुनाव जितेर अर्जुन प्यानलको साख जोगाए । उनले १७९१ र प्रत्यासी हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । दुवैबीच १०७१ मतान्तर अन्य प्रतिस्पर्धीबीच सबैभन्दा धेरै हो । उपाध्यक्ष (वाणिज्य) तर्फ निर्वाचित उत्तममान बज्राचार्यले ९६९ मत ल्याएर वियजी हुँदा स्वतन्त्र उम्मेद्वार सोभित पौडेलले ८७८ र पोखरेल प्यानलकी कुमारी मुना बास्तोलाले ६४८ मत ल्याए । 

महासचिवमा त्रिपक्षीय प्रतिस्पर्धा भएकोमा पवन प्यानलबाट बलराम आचार्यले ८१ मतान्तरले चुनाव जिते । उनले ९१० मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी पोखरेल प्यानलका केशवबहादुर खत्रीले ८२९ र स्वतन्त्र उम्मेद्वार तारानाथ ढुंगानाले ७६९ मत प्राप्त गरे । यस्तै, कोषाध्यक्षमा प्रजापती प्यानलका दिनेशचन्द्र बाँस्तोला १५९९ मतसपहित विजयी हुँदा प्रत्यासी हरिराज पन्तले ९०५ मत प्राप्त गरे । उपमहासचिव प्रजापती प्यानलकै शोभा गौतम निर्वाचित भएकी छिन् । उपमहासचिवमा निर्वाचित शोभाले १७५५ र हर्कबहादुर अधिकारी (मिरज) ले ७५८ मत प्राप्त गरे । 

१० खुला सदस्यमा प्रजापती प्यानलकी प्रभा सुवेदीले लोकप्रिय मत (१४४८) पाएकी छन् । पवन प्यानलबाट प्रभासहित बालकृष्ण कोइराला (१३६२), सुदीप प्रधानाङ्ग (१३३५), भीम गौतम (१२६९), मनोजकुमार श्रेष्ठ (१२२२) र सुदीप ओझा (११३७) निर्वाचित भए । उता अर्जुन प्यानलबाट दिलीपकुमार श्रेष्ठ (१३०९), भरत केसी (१३०९), कृष्णप्रसाद कोइराला (१२८८) र माधव बस्ताकोटी (१२६०) निर्वाचित भए । 

बस्तुगततर्फ जीवनप्रकाश श्रेष्ठ (२७), प्रेमप्रसाद सुवेदी (२७), लीलाधर चपाई (२२) र लेखनाथ सुवेदी (२३) निर्वाचित भए । कर्पोरेटतर्फ बन्दना कार्की केसी र रामप्रसाद कँडेल तथा उद्योगतर्फ युवकबहादुर बस्नेत यसअघि नै निर्विरोध भएका थिए । ३१४३ मतदातामध्ये ८१ अर्थात् २ हजार ५ सय ४९ जनाले मतदान प्रक्रियामा भाग लिएको निर्वाचन संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।

संघमा २९ सदस्यीय कार्यसमितिमा रहने व्यवस्था छ । रिक्त ४ सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । पोखराकै सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको स्थापना २०११ सालमा भएको हो । 

यसैबीच, आइतबार राति नै निवर्तमान अध्यक्ष नारायण कोइरालले नवनिर्वाचित अध्यक्षलाई सपथ गराए भने अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि अध्यक्ष पवन प्रजापतिले आफ्ना १७ बुँदे चुनावी प्रतिबद्धतासहित अर्जुन प्यानलको ८ बुँदालाई समेत समेट्दै उद्योग व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए ।


Author

थप समाचार
x