अर्थ / बाणिज्य

होडिङ बोर्ड विज्ञापनका लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा बोर्ड

इकागज |
भदौ २७, २०७९ सोमबार १५:२६ बजे

काठमाडौँ- विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले स्थलगत (होडिङ बोर्ड) विज्ञापनका लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष हुमागाईँले यस्तो बताएका हुन् । उनले स्थलगत विज्ञापनका लागि अझैपनि ठेकेदारी प्रचलन गरेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानुन बनाएर लागू गर्ने बताए । अध्यक्ष हुमागाईँले होडिङ बोर्ड विज्ञापनमार्फत उठ्ने राजस्‍व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापन बापतको राजस्‍व ठेकेदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको जिकिर गरे ।


उनले विज्ञापनको राजस्‍व उठाउने अधिकार स्थानीय स्वायत्तता ऐनले स्थानीय सरकारलाई दिएपनि ठेकेदारहरूले उठाइरहेको उल्लेख गरे । अध्यक्ष हुमागाईँले गाउँपालिका, नगरपालिका र सरकारबीचको समन्वयको कमीले गर्दा ठेकेदारबीच द्वन्द्वको चपेटा रहेको भन्दै विज्ञापन आचारसंहिताले समेट्न नसकेको बताए ।यसका लागि निर्वाचन अगाडि नै स्थलगत विज्ञापनको राजस्‍व स्थानीय सरकारले उठाउन पाउने गरी कानुन मन्त्रिपरिषद्ले पास गर्ने उनकाे भनाइ छ ।

बोर्डले यो वर्ष डिजिटल मिडियाको ऐन बनाएर नै व्यवस्थापन गर्ने उनले बताए । अध्यक्ष हुमागाईँले बढीमा चार/पाँच महिनाभित्र डिजिटल मिडिया व्यवस्थापन गर्ने गरी काम भईरहेको जिकिर गरे। उनले डिजिटल मिडिया व्यवस्थापनको लागि विज्ञापन संघ, विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोक्ताको ठूलो सहयोग भएपनि सरकारी कर्मचारीहरूको नै असहयोग रहेको बताए ।

अध्यक्ष हुमागाईँले बोर्डको पहलमा चालू आर्थिक वर्षदेखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्ने पाउनेगरी सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको बताए । उनका अनुसार मिडियाको बिलबाट नै भुक्तानी पाउने नियम तत्काल लागू हुन्छ । त्यस्तै अध्यक्ष हुमागाईँले विदेशी विज्ञापन तत्काल नियन्त्रण गर्न पनि आग्रह गरे । उनले डबिङ विज्ञापन बोर्डले रोकेको भन्दै यदि कही डबिङ विज्ञापन बजेको छ भने खबर गर्न व्यवसायीहरूसँग आग्रह गरे ।


Author

थप समाचार
x