प्रधानमन्त्री देउवाले गरे ‘परियोजना बैंक’ शुभारम्भ
काठमाडौँ– प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवा लगानी बोर्डले तयार गरेको ‘सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची’ (परियोजना बैंक) सार्वजनिक गरेका छन् ।
लगानी बोर्डद्वारा आयोजित ‘दीगो पूर्वाधार विकास मञ्च, २०२२’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको ‘एक रोकाई सेवा (वान स्टप सर्भिस) डिजिटल सिष्टम’ पनि आरम्भ गरे ।
उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।
उद्घाटन सत्रका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने’ अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्रीले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै ती उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरे ।
लगानी बोर्डको कार्यालयले लगानी प्रवद्र्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना प्रदर्शन गर्दै लगानी सम्मेलन आयोजना गर्दै आएको छ । आजको सम्मेलनपछि समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया