खुल्यो सुपथ मूल्य पसल : कहाँ के सामग्री पाइन्छ ?
फाइल तस्वीर
काठमाडौँ- सरकारले नेपालीको महान चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौँ उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।
उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए ।
उनले चाडपर्वका बेला दैनिक उपभोग्य बजारमा धेरै किनबेच हुने भएकाले महँगी नियन्त्रण तथा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार नियन्त्रण गर्नु सुपथ पसलको प्रमुख लक्ष्य भएको बताए । उद्योगमन्त्री बडूले जनतालाई राहत र सहुलियत प्रदान गर्न अघिल्लो वर्षभन्दा बढी मूल्य सुपथ गरिएको तथा साल्ट ट्रेडिङले दैनिक उपभोग्यवस्तु नुन, चिनीका अलावा खाद्यान्न पनि बिक्रीवितरण गर्ने जानकारी दिए ।
त्यस्तै दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ । मन्त्री बडूले कम्पनीको सेवालाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै जनतालाई समयमै अधिकतम सेवा उपलब्ध गराउन निर्देशन दिए ।
उनले भने, “कम्पनीको सेवा दूरदराजका जनताको पहुँचमा पुर्याउन र उनीहरुको सेवामा समर्पित हुने खालका कार्यक्रम अघि बढाउनेतर्फ ध्यान दिन म आग्रह गर्दछु ।” उनले दुर्गम तथा हिमाली क्षेत्रका खाद्यवस्तुको सङ्कलन र बजारीकरणमा ध्यान दिन पनि आग्रह गर्नुभयो । बजारको प्रभावकारी अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम राख्न मन्त्रालय सचेत रहेको भन्दै उहाँले जनशक्ति बढाएर अनुगमनलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे।
उद्योग मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनसँगै बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाइएको बताए । उनले उपभोक्ताले सहजरुपमा खाद्य उपभोग्य वस्तु खरिद गर्नसक्ने हेतुले अनलाइन बिक्रीको व्यवस्था गरिएको जानकारी दिए । सचिव ज्ञवालीले कम्पनीको उपलब्ध भौतिक संरचनाको भरपुर उपयोग गरी दूरदराजका जनतालाई प्रभावकारी सेवा दिन कम्पनीको ध्यानाकर्षण गराए ।
व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले अत्यावश्यक खाद्यवस्तु एकैथलोबाट सहुलियतरुपमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको बताए । उनले सुपथ पसल आवश्यकताअनुसार विस्तार गर्ने र वस्तुसेवा बिक्रीलाई सहज तुल्याइने बताए ।
४५ स्थानमा सुपथ पसल
राजधानी काठमाडौँसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ । काठमाडौँको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।
आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ । प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ । सुपथ पसलमा मासुजन्य वस्तुमा रु १० तथा खाद्यान्य सामग्री र तेलमा रु सात छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यी खाद्यवस्तुमा छुट पाइन्छ
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन् । सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा रु सात छुट पाइनेछ । कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो रु १०, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट पाइने कम्पनीले जनाएको छ । नुन किलोमा रु दुई, घिउ किलोमा रु ६० र पनिर तथा चिजमा प्रतिकिलो रु २० छुट पाइनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया