किसानलाई व्यवसायिक बनाउँदै कृषि सहकारी
सिन्धुपाल्चोक- काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्किएका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार हाराहारी आम्दानी गरिरहेका छन् ।
उनीजस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि नाफा कमाउने उद्देश्यतिर केन्द्रित हुँदा नागरिकमा सहकारीप्रतिको विश्वास घट्दै गएको छ । तर सूर्यमुखी साना किसान कृषि सहकारी मेलम्चीले भने किसानको हितका लागि काम गर्दै किसानलाई व्यावसायिक बन्न भरपर्दो सहयोगी बनेको छ ।
मेलम्ची नगरपालिका–२ की इन्दिरा खतिवडाले पनि सहकारीबाट लिएको ऋणले बाख्रापालन र होमस्टे सञ्चालन गरिरहेकी छन् । व्यवसायबाट भएको आम्दानी खतिवडाले घर व्यवहार, छोराछोरी पढाउने र बचत गर्ने गरेकी छन् । सहकारीमा अहिले दुई हजार नौ सय १३ साधारण शेयर सदस्य छन् । त्यसमा ज्येष्ठ नागरिक, खुत्रुके र बाल बचत गरेर नौ सय गरी ३८ सय ७३ शेयर सदस्य छन् । सहकारीमा कुल पुँजी २५ करोड रहेको सहकारीले जनाएको छ । सहकारीको आफ्नै भवन, चिस्यान केन्द्र रहेको छ । कृषि क्षेत्रमा उद्यमी बन्न चाहने किसानलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साना किसानमार्फत सहयोग गरिरहेको छ ।
मेलम्ची नगरपालिका–१ मा रहेको सूर्यमुखी साना किसान कृषि सहकारीले मेलम्ची नगरपालिका–१ देखि ५ सम्म र वडा नं १२ लाई कार्यक्षेत्र बनाएर अहिले काम गरिरहेको छ । योसँगै अन्य पालिकामा पनि साना किसान कृषि सहकारीको अवधारणालाई विकास गर्दै गइरहेको छ । अन्य सहकारीलाई व्यवस्थापनमा पनि सहयोग गर्दे आएको छ । किसानलाई व्यावसायिक बन्न ऋण सहयोगदेखि स्थानीय तहसँग विकास साझेदार भएर काम गरिरहेको बताउँछन् सहकारीका अध्यक्ष मित्रलाल चौलागार्इं ।
सहकारीले पशु बीमा दूध सङ्कलनदेखि बजारीकरण र अनुदानसमेत दिने गरेको उनी बताउँछन् । भेटेरीनरी सेवा, बीउ प्रशोधन केन्द्रलगायत पनि सहकारीको सेवामा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया