अर्थ / बाणिज्य

कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली

इकागज |
असोज ४, २०७९ मंगलबार २०:२४ बजे

फाइल फोटो

कपिलवस्तु - कृष्णनगर भन्सार कार्यालयले पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । 

जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । भन्सारले गत वर्षभन्दा १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए । निर्यात हालसम्मकै उच्च हो । 


आव २०७८/७९ मा प्लाइउड, टर्पेन्टाइन तेल, सुगन्ध तेल, तोरीको तेल, सुगन्ध कोकिला मार्क, काठका भाँडा, काठको कचौरा, टोकरी, हड्डी र सिङ, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको पौडेलले जानकारी दिए । गत आवमा रु १४ करोड ८० लाख ४५ हजारको प्लाइउड निर्यात भएको थियो । यसैगरी पाँच करोड ६२ लाखको टर्पेन्टाइन तेल तथा तीन करोड ६६ लाखको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको प्रमुख पौडेलले बताए । 

भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन छ । गत आवमा २६ करोड २३ लाख ५४ हजारको रोजिन निर्यात भएको थियो । यो अघिल्लो आवभन्दा आठ करोड ५३ लाख ५९ हजार बढी हो ।  कार्यालयबाट गत आवमा रु २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजारको सामग्री आयात भएको थियो । आव २०७७/७८ मा २४ अर्ब ४९ करोड नौ लाख नौ हजारको आयात भएको थियो । सबैभन्दा धेरै आयात हुनेमा चामल र फलफूल  छन् । रासस
 


Author

थप समाचार
x