चालू पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन सच्याउन राष्ट्रबैँकलाई आग्रह
काठमाडौंँ - नेपाल चेम्बर अफ कर्मसले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्रबैंकसँग पुनः आग्रह गरेको छ । राष्ट्रबैँकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्ने क्रममा चालू पुँजी कर्जा सम्वन्धी व्यवस्थाले व्यवसायिक क्षेत्रमा परेको असरबारे बृहत छलफल भएको थियो । बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरू सबै भन्दा बढी मारमा परेको नेपाल चेम्बर र समुद्रपार निकासी पैठारी संघका पदाधिकारीले गुनासो गरेका थिए ।
राष्ट्रबैँकले चालू पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशन आगामी कार्तिक १ गतेदेखि लागु गर्ने तयारी गरिरहेका बेला व्यवसायीले व्यापार सहजीकरण तथा लगानी मैत्री वातावरणमा मार्गदर्शनले गम्भिर असर गर्ने व्यवसायीको भनाइ छ ।चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘एक करोड रुपैयाँ सम्मको चालू पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशत सम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समय सम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशत सम्म यो सिमा कायम गरिनु पर्दछ, ।’ चालू पुँजी मार्गदर्शन सम्बन्धी व्यवस्थाले उधारोमा विक्री गर्नुपर्ने अवस्थाका व्यापारी सबैभन्दा बढी मारमा पर्ने अध्यक्ष मल्लको भनाइ छ ।
राष्ट्रबैँकको अस्थिर नीतिले ऋणीहरू असाध्यै मर्कामा परेकाले व्याजदरमा पुनरावलोकन गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरू सवैभन्दा बढी मर्कामा परेको समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियाले बताए ।
उनले भने, ‘यसअघि निश्चित व्याजदरमा कर्जा लिएका ऋणीहरू राष्ट्रबैँकको नीतिका कारण थप समस्यामा परेका छन् । आधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीहरुमा परेको छ, ।’
वेश रेट प्रिमियम यसअघिको व्यवस्था अधिकतम १ दशमलव ५ प्रतिशत विपरित स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा २ र अन्यमा ४ प्रतिशत सम्मको सीमाले व्यवसायिक गतिविधि प्रभावित हुने र मुल्यवृद्धि झन बढ्ने चेम्बर अध्यक्ष मल्लले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया