अर्थ / बाणिज्य

विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

इकागज |
असोज २४, २०७९ सोमबार ११:५१ बजे

काठमाडौंँ - 'पोस्ट फर प्लानेट' भन्ने नाराका साथ १४८ औं विश्व हुलाक सेवा दिवस नेपालमा पनि जिल्ला स्तर र केन्द्रमा समेत विविध कार्यक्रम सहित मनाइएको छ । उक्त अवसरमा हुलाक सेवा विभागले हुलाक सेवाको सान्दर्भिकता विषयमा अन्तर्क्रियामा कार्यक्रमको समेत आयोजना गरेको थियो।

आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा । बैकुण्ठ अर्यालले बदलिँदो परिवेश अनुसार विभागले आफ्नो सेवालाई थप परिष्कृत ,  प्रतिस्पर्धी र व्यवसायिक बनाउनु पर्ने बताए ।


 उनले  हुलाक सेवाको विकास र विस्तारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पछिल्लो समय सूचना र प्रविधिले फड्को मारिरहेको अवस्थामा हुलाकमार्फत हुने गतिविधिमा कमि आएको देखिन्छ । तर विभागकी महानिर्देशक इन्दु घिमिरेले भने अझै पनि हुलाकको महत्त्वमा कमि नआएको बताइन ।

उक्त अवसरमा विभागले उत्कृष्ट तीन कर्मचारीलाई सम्मान समेत गरेको छ ।  सम्मानित हुनेमा श्रीप्रसाद खनाल, रामप्रसाद गैंडा र मनोज नगरकोटी रहेका छन । 
विभागले आइतबार देखिनै वितरण हुने गरि पाँच र दस मूल्यका हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेको छ । चर्चामा रहेका हिम टाकुरा, प्रसिद्ध धार्मिक स्थल तथा लोपोन्मुख  औषधीय वनस्पतिलाई समेटेर १३ वटा टिकटमा टाँचा लगाई सार्वजनिक गरिएको विभागले जनाएको छ ।

हुलाक सेवा विभागमा आयोजित उक्त कार्यक्रममा बिभाग अन्तर्गतका बिभिन्न ४ कार्यालयका प्रमुखहरुले आ आफ्ना कार्यालयका समस्या र समाधानका सुझाव प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x