अर्थ / बाणिज्य

नेपाल–इटाली उद्योग वाणिज्य संघले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

इकागज |
असोज २७, २०७९ बिहीबार १३:२४ बजे

काठमाडौँ- नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई)बीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानी बारे छलफल भएको थियो । एनआईसीसीआईका उपाध्यक्ष  सञ्जय अग्रवालले नेतृत्व गर्नुभएको उक्त बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीको लागि कोलकाताका महावाणिज्य दूत  जियानलुका रुबागोटी, इटालीको लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो ।

एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथिको रुपमा उपस्थित थिए साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थित थिए । 


इटालियन राजदूत भिन्सेन्जो डे लुकाले भने “इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।” उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु इटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए । 

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले भने नेपाल–इटाली उद्योग वाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड इन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ । जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता,  आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिइएको छ ।

एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।  नेपाल र इटाली साँस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना सँस्कृति आदानप्रदान गर्दै आइरहेका छन् । सन् २०१५ मा नेपालमा गएको भूकम्प पछि इटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ जसमा नेपालका लागि इटालीले आर्थिक सहयोग जुटाएको थियो ।

यो बैठकले नेपाललाई इटालीमा नेपालको व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर प्रदान गरेको छ साथै इटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर पाएका छन् ।


Author

थप समाचार
x