अर्थ / बाणिज्य

व्यवसायीलाई भ्याइनभ्याइ

तिहार नजिकिएसँगै बढ्यो कुचोको माग

इकागज |
असोज ३०, २०७९ आइतबार १२:५४ बजे

काठमाडौँ - तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइ टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग बढेको हो । 

कुचोको माग बढेसँगै व्यवसायीहरूलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए । उनले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा  पनि कुचो व्यवसाय गरेको बताए । 


उनले आफूले उत्पादन गरेका कुचोहरू नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताए । यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताए । उनले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताए । 

उनले अहिले बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गरेको बताए । ‘ कुचो व्यापार गर्न थालेको १४/१५ वर्ष भयो। नेपालमा काम गर्न थालेको ६ वर्ष लाग्यो । भारतमा धेरै बिक्री गर्छु । अम्रिसो पहाडका क्षेत्रतिर पाइन्छ । कोरोनापछि अहिले पनि राम्रोसँग व्यापार भएको छैन,' उनले भने, 'आर्थिक अवस्था कमजोर भएकाले पनि होला व्यापार धेरै छैन । यस वर्षको तिहारमा व्यापार राम्रो होला जस्तो छैन । बजारमा पैसा नै छैन । अहिले २ सय छ, तर घटेर १५० सम्म आउने स्थिति छ । यस वर्षको तिहारमा पनि आर्थिक अवस्था कमजोर रहेकाले माग पनि खासै आइरहेको छैन ।’

त्यस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताए । उनले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरूबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताए । उनले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताए । 

‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । तिहारका लागि धेरै माग बढेको छ । काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ,' उनले भने, 'पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ ।’

तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।   
 


Author

थप समाचार
x