बंगुरले बजार नपाउँदा कराैडाैं लगानी डुब्ने जाेखिम
कञ्चनपुर- कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव भएको छ । बंगुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बंगुरपालन गर्दै आएकी कलावती भट्टले कोरोना सङ्क्रमण घटेसँगै बंगुरको बिक्रीमा कमी आएको बताइन् । तीन करोड लगानी गरी फार्ममा उनले चार सयवटा बंगुरपालन गरेकी छन् ।
“वर्षमा झण्डै रु ५० लाख बढीका बङ्गुर बिक्री हुन्थे”, उनले भनिन्, “गएको चैतसम्म रु तीन लाख मूल्यका बङ्गुर बेचेका थियौँ, त्यसपछि बंगुर बिक्री हुन पाएका छैनन्, दसैं, तिहारलगायतका चाडपर्वमा बङ्गुरको माग अधिक हुने गर्दथ्यो, यस वर्ष माग नै आएन ।”
उनका अनुसार बंगुरका पाठापाठीको माग सुदूरपश्चिमका नौ जिल्लाबाटै आउने गरेको थियो । मासुका लागि बंगुर काठमाडौँसम्म लैजाने गरिन्थ्यो । यस वर्ष बंगुरको कुनै ठाउँबाट माग नै नआएपछि फार्ममै थन्किएका छन् । बंगुरलाई चारो मात्रै खुवाउन हप्तामै एक लाख जति खर्च भइरहेको उनले गुनासो गरिन् । उनको फार्ममा डयुरोक, योकसायर, हेमप्पसायर, पाख्रिवासलगायत उन्नत जातका बंगुर छन् ।
बंगुरका प्रति पाठापाठी पाँच हजार र मासु थोकमा तीन सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । “कोरोनाको सङ्क्रमण बढेसँगै विदेश गएका युवाहरू घर फर्के”, बंगुरपालक गगनराज भट्टले भने, “बंगुरपालनमा लागें, पाठापाठीको त्यसबेला निकै माग थियो, त्यसमै लागे, मासु दानमा कोही लागेनन्, पाल्ने अधिक भएपछि पाठापाठीको उत्पादन अधिक भयो, मागभन्दा उत्पादन बढी भएपछि बिक्री हुन पाएन ।”
तीन वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका जोनापुरका दीपक चौधरीले पनि बंगुर बिक्री गर्न पाएनन् । वैदेशिक रोजगारीबाट फर्केपछि उहाँले रु नौ लाख लगानी गरी बंगुर फार्म सञ्चालन गरेका हुन् । फार्ममा ४५ बंगुर छन् । “बंगुरका पाठापाठीसहित छवटा बंगुर बिक्रीका लागि तयारी अवस्थामा छन्”, उनले भने, “चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ ।”
“बंगुर फार्म सञ्चालन गरी अरुले आम्दानी गरेको देखेपछि नेपाली सेनाबाट सेवानिवृत्त भएपछि बंगुरपालन व्यवसायमा हात हाल्यौँ”, फूलराम चौधरीले भने, “निकै रकम खर्च गरेर फार्म दर्ता गरी सञ्चालन गरेका छौँ, फार्ममा दर्जन बढी बंगुर पालेका छौँ, बंगुर बिक्रीका लागि तयार भएको ६ महिना भइसकेको छ, खरिदकर्ता अझै पुगेका छैनन्, बजार चहार्दै हिँडे पनि खरिदकर्ता पाएका छैनौँ, लगानी डुब्ने चिन्ताले सताउन थालेको छ ।”
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया