अर्थ / बाणिज्य

नेपाल एयरलाइन्स र क्यानको लापरबाहीले दिल्ली जान हिँडेका २५४ यात्रु अलपत्र

इकागज |
कात्तिक १३, २०७९ आइतबार १६:१८ बजे

फाइल तस्वीर

काठमाडौँ-  नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको दिउँसो १.४५ बजेको दिल्ली उडान अनुमति नलिएको भन्दै वाइडबडी बिमान आरए–२१७ को उडान रोकिदिएको छ। दिउँसो १.४५ बजे दिल्लीका लागि उडान गर्ने तयारी गरेको नेपाल एयरलाइन्सको उडानलाई नागरिक उड्ययन प्राधिकरणले अनुमति नभएको भन्दै रोकिदिएपछि यात्रुहरू समस्यामा परेका छन् ।

काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ को उडान रोकिएपछि २ सय ५४ जना यात्रु अलपत्र परेका हुन्।


नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलाइन्सलाई अनुमति भन्दा बढी उडान नगर भन्दा भन्दै उडानको तयारी गरेको कारण उडान रोकेको बताए । निरौलाका अनुसार प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवाहरूको विन्टर सेड्युल (अक्टोबर ३० बाट २०२३ मार्च २७ सम्मको उडान तालिका) मा उडान कटौती गरिदिएकाले विमानस्थलले उडान रोकेको इकागजलाई जानकारी दिए। 

प्राधिकरणले उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई करिब दस दिनअघि नै सूचना दिएको जनाएको छ। अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको थियो। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने जानकारी पनि दिएको थियो।

उता नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्कालाई बिना अनुमति तपाईंहरूले दिल्ली उडान गर्न लागेका कारण प्राधिकरणले रोकिदिएछ यसले त यात्रुहरू समस्यामा परे नि भनेर प्रश्न गर्दा उनले  हामीले १४ उडानका लागि अनुमति माग्दा उहाँहरूले १० वटाको मात्रै अनुमति दिएका कारण समस्या परेको बताइन्। 'हामी समन्वय गरेर जाने योजनामा थियौँ तर उहाँहरूले उडान नै रोकिदिनुभयो। '

'विन्टर सेड्युलका लागि प्राधिकरणले उडान कटौती गरेको सूचना दुई दिनअघि निगममा आइपुगेको हो। आजको उडानको टिकट २/३ महिनाअघि नै बुक भइसकेको थियो। हामीले प्राधिकरणसँग समय मागेका थियौं। अहिले उडान कटौती भयो,' उनले भनिन्। 

 

 


Author

थप समाचार
x