अर्थ / बाणिज्य

व्यापार घाटा बढाउने प्रमुख २० वस्तु : कति आयात बढ्यो, कति घट्यो ?

प्रमुख २० वस्तुको कूल आयात ८७ अर्ब रुपैयाँले बढ्यो

पवन तिमिल्सिना |
बैशाख ९, २०७८ बिहिवार १६:४५ बजे

काठमाडौं :  चालु आर्थिक वर्षको पहिलो नौ महिनामा व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशत बढी हो । पछिल्लो पाँच वर्षको तथ्यांकलाई आधार मान्दा नेपालको वैदेशिक व्यापारमा प्राय २० प्रमुख वस्तुले ठूलो अंश ओगट्ने गरेको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, खाद्यान्‍न, सुन, मोटरसाइकल, फलामजन्य सामग्री, मललगायतका २० प्रमुख वस्तुको आयातले व्यापार घाटा बढाउन बल पुर्‍याएको देखिन्‍छ ।

समीक्षा अवधिमा प्रमुख २० वस्तु चार खर्ब २ अर्ब ३८ करोड रुपैयाँ बराबर आयात भएका छन् । गत आर्थिक वर्षमा ती वस्तुहरूको कूल आयात ३ खर्ब १४ अर्ब रुपैयाँ थियो । जसअनुसार ती वस्तुहरूको आयातमा ८७ अर्ब ८५ करोड रुपैयाँले वृद्धि भएको छ ।

अत्यधिक आयात बढ्नेमा सबैभन्दा बढी भटमासको कच्चा तेल देखिएको छ । गत आवको तुलनामा ५९ प्रतिशत बढी कच्चा तेल आयात भएको छ । तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गरी भारतमा निर्यात गर्ने प्रवृत्ति बढेपछि यसको आयातमा वृद्धि भइरहेको छ । गत आर्थिक वर्षमा १२ अर्ब भटमासको कच्चा तेल आयात भएको थियो । तर, यसपाली ३० अर्ब ८५ करोड रुपैयाँ बराबर आयात भएको छ ।

दोस्रो ठूलो मात्रामा आयात वृद्धि हुनेमा मोबाइल छ । मोबाइलको आयात ५०.६७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो ९ महिनामा १४ अर्ब ६२ करोड रुपैयाँ बराबर मोबाइल आयात भएको थियो । तर, यस वर्ष २९ अर्ब ६४ करोड रुपैयाँको मोबाइल आयात भएको छ । यो झन्डै दोब्बर वृद्धिदर हो ।

तेस्रोमा भटमासको पिना आयात ४५ प्रतिशतले बढेको छ । यो आयात ५ अर्ब १७ करोड रुपैयाँ बढी छ । अनियन्त्रित मात्रामा आयात बढ्दै गएपछि व्यापारघाटा समेत चुलिएको हो । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो नौ महिनाको तथ्यांकले व्यापारघाटा १२.४९ प्रतिशतले बढेको देखाएको छ । गत आर्थिक वर्षको चैतसम्म व्यापार घाटा ९० करोड रुपैयाँ कायम भएको थियो । चैत मसान्तसम्म आइपुग्दा मुलुकको वैदेशिक व्यापारको आकार नै १२ खर्ब रुपैयाँ पुगेको छ ।

प्रमुख चार वस्तुको आयात घट्यो


गत आवको ९ महिनाको तुलनामा केही प्रमुख आयातित वस्तुहरू यसपाली कम आयात भएका छन् । डिजेल, पेट्रोल, मकै र युरिया मलको आयातमा कमी आएको छ। गत आर्थिक वर्षको ९ महिनामा ७१ अर्ब १३ करोड रुपैयाँको डिजेल आयात भएको थियो । यसपाली ५९ अर्ब ७४ करोड रुपैयाँ मात्रै डिजेल आयात भएको छ । डिजेल आयातमा गत आवको तुलनामा १९ प्रतिशतले गिरावट आएको छ ।

डिजेल मात्रै होइन पेट्रोलमा समेत कमी आएको छ । झन्डै ९ प्रतिशत (८.९१ प्रतिशत) ले पेट्रोलको आयात घटेको छ । गत आवको ९ महिनामा २५ अर्ब ४४ करोड रुपैयाँ बराबर पेट्रोल आयात भएको थियो । यसपाली दुई अर्ब कम पेट्रोल आयात भएको छ । मकै ८ करोड रुपैयाँ कम आयात भएको तथ्यांकले देखाएको छ । युरिया मल समेत १ अर्ब १७ करोड रुपैयाँ कम आयात भएको छ ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x