अर्थ / बाणिज्य

१० अर्ब बढी पुँजीको दोस्रो पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन आवेदन खुल्यो

विरेन्द्र महतोसहित चार कम्पनी लाइसेन्सका लागि दौडधुपमा

इकागज |
बैशाख १६, २०७८ बिहिवार ९:२९ बजे

काठमाडौं : बीमा समितिले थप एक पुनर्बीमा कम्पनी खोल्न प्रक्रिया अघि बढाएको छ । समितिले निजी क्षेत्रलाई पुनर्बीमा कम्पनी खोल्न प्रस्ताव मागेको हो ।

कम्तिमा १० अर्ब चुक्ता पुँजी भएको पुनर्बीमा कम्पनीको प्रस्ताव ल्याउन समितिले आह्वान गरेको छ । अहिले मुलुकमा एउटा मात्रै पुनर्बीमा कम्पनी छ । माओवादी द्वन्द्वकालमा विदेशी पुनर्बीमा कम्पनीले विध्वंसात्मक क्रियाकलापवाट हुने क्षतिको क्षतिपूर्ति दिन अस्वीकार गरेपछि सरकारले आकष्मिक बीमा कोष स्थापना गरेको थियो । सोही कोषलाई पुनर्बीमा कम्पनीको रुपमा परिणत गरिएको थियो ।

सरकारको ४३ प्रतिशत र बीमा कम्पनीहरुको ५७ प्रतिशत सेयर लगानी छ । कम्पनीमा जीवन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको सेयर हिस्सा ३९ प्रतिशत छ । जीवन र निर्जीवन गरी हाल भएका ३९ बीमा कम्पनीले जति रकमको पुनर्बीमा गर्छन्, त्यसको कम्तीमा २० प्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न सार्वजनिक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीले अपेक्षाकृत रुपमा काम गर्न नसकेकाले नयाँ पुर्नबीमा कम्पनीको आवश्यकतामा जोड दिँदै आएका थिए । एउटा मात्रै पुनर्बीमा कम्पनी हुँदा पुनर्बीमाको बजार प्रतिस्पर्धी बन्‍न सकेको छैन ।

गत चैतमा बीमा विज्ञ भोजराज शर्मा संयोजकत्वमा गठित समितिले नयाँ पुनर्बीमा स्थापना गर्ने विषयमा अध्ययन गरि प्रतिवेदन तयार पारेको थियो । हालसम्म अन्नपूर्ण री, काठमाडौं री, प्रुडेन्सियल री र जेन्युन री नाममा विभिन्न कम्पनीहरूले पुनर्बीमा कम्पनी स्थापनाका लागि कसरत गरिरहेका छन् । यसअघि पुनर्बीमा कम्पनीमा लगानी गरेको (क्रस होल्डिङ गरेको) लगानीकर्ताको प्रस्ताव अस्वीकृत गर्ने समितिले जानकारी दिएको छ ।

बीमा समितिले एउटा मात्रै पुनर्बीमा कम्पनीको लाइसेन्स दिने गरी आवेदन खुलाएकाले प्रस्तावित पुनर्बीमा कम्पनीमध्ये एउटाले मात्रै पूर्णता पाउने भएको छ । त्यसपछि प्रस्तावित कम्पनीले सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिनुपर्ने हुन्छ । समितिको सैद्धान्तिक स्वीकृतिपछि सम्बद्ध कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता हुन सक्नेछ । त्यसपछि आवश्यक पूर्वाधार तयार भएपछि समितिले कारोबारको अन्तिम स्वीकृति दिन सक्नेछ ।

प्रस्तावित चारमध्ये काठमाडौं रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । जसमा ७० प्रतिशत अर्थात् सात अर्ब रुपैयाँ संस्थापकहरूबाट व्यहोर्ने उल्लेख छ । यसबाटै २० प्रतिशतसम्म विदेशी रणनीतिक साझेदारलाई दिन सकिने समेत प्रस्तावमा उल्लेख छ । संस्थापक सेयरधनीमा ४० प्रतिशत विभिन्न संघसंस्था र ३० प्रतिशत विभिन्न व्यक्तिको हुने प्रस्ताव गरिएको छ । बाँकी ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइनेछ। सात जनाको सञ्चालक समिति प्रस्ताव गरिएको छ । प्रस्तावित यस कम्पनीका योजनाकार/संस्थापकहरूमा देवेन्द्रप्रताव शाह (सिए, नेपाल बैंक र कृषि विकास बैंकका पूर्व सिइओ), महेश गुरागाईं (सिए, नेपाल रिइन्स्योरेन्सका पूर्वअध्यक्ष), रमेशकुमार भट्टराई (महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओ), श्रीचन्द्र भट्ट (ज्योति विकास बैंकका सिइओ) छन् ।

अन्नपूर्ण रिइन्स्योरेन्सले आठ अर्ब चुक्ता पुँजी भएको प्रस्ताव बुझाएको थियो । तर, न्यूनतम १० अर्ब अनिवार्य शर्त भएकाले अन्‍नपूर्णको सम्भावना कमजोर देखिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोका भाई वीरेन्द्र महतोको लगानीमा यो कम्पनी खोल्न प्रस्ताव गरिएको हो ।

जेन्युन रिइन्स्योरेन्सको चुक्ता पुँजी दस अर्ब रहनेछ। जसमा तीन अर्बको सर्वसाधारणलाई आइपिओ जारी गरिने प्रस्तावमा उल्लेख छ । अर्को तीन अर्ब रूपैयाँ विभिन्न संघसंस्थाहरूबाट पुँजी जुटाइनेछ । प्रुडेन्सियल रिइन्स्योरेन्सको चुक्ता पुँजी पनि आठ अर्बभन्दा धेरै हुने भनिएको छ ।

 



Author

थप समाचार
x