अर्थ / बाणिज्य

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

इकागज |
पुस १७, २०७९ आइतबार २१:५४ बजे

फाइल फोटो

काठमाडौँ - चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । 

आज अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा पौडेलले यस्तो निर्देशन दिएका हुन् । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम छ । 


वार्षिक लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारणबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग जानकारी लिएको पनि अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । अर्थमन्त्री पौडेलले राजस्व संकलनको वर्तमान अवस्थाबारे जानकारी लिँदै तोकिएबमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा निर्देशन दिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

'आजैदेखि दैनिकरूपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पूरा गरी लक्ष्यअनुसार संकलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो', मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

राजस्व परिचालनका लागि विभाग तथा कार्यालयलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने प्रतिबद्धता पनि मन्त्री पौडेलले जनाएका छन् । त्यस्तै, कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ । 

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक तथा यथार्थपरक बनाउन अर्थमन्त्री पौडेलको निर्देशन छ । त्यस्तै, कर कार्यालयहरूका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गर्नसमेत उनले निर्देशन दिएका छन् । रासस


Author

थप समाचार
x