अर्थ / बाणिज्य

विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ : अध्यक्ष गोल्छा

इकागज |
पुस २१, २०७९ बिहीबार १४:४४ बजे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिटेन्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।​

बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनीमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिटेन्स मात्रै आएर नचल्ने भन्दै रेमिटेन्स, निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् । सरकारले रेमिटेन्स भित्र्याउने,नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेकाे उनले जिकिर गरे ।


उनले अर्थतन्त्रको तीन वटा इन्जिनमध्ये रेमिटेन्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे ।

अध्यक्ष गोल्छाका अनुसार सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक छ । बैंकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताए । उनले अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिटेन्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिए ।

अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौती भएको उल्लेख गरे । उनले सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरूले सहज रूपमा पाउन नसकेको गुनासो गरे ।

अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुईङ विजनेस बढिरहेकाले नेपाली निर्यातजन्य वस्तुहरूलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताए । उनले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रूपमा पाउनका लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए ।

निर्यात परिषद्ले २५ औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टरमा सुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्थलहरू राखिएको छ ।


Author

थप समाचार
x