अर्थ / बाणिज्य

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

इकागज |
पुस २२, २०७९ शुक्रबार १७:४३ बजे

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

कम्पनीको हिजो (बिहीबार) बसेको १३ औं साधारण सभाले आगामी चार वर्षका लागि ढकाललाई अध्यक्षमा चयन गरेको चन्द्रगिरि हिल्सले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


साधारण सभाले उत्तमकुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठलाई सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । साथै सोही दिनमा बसेको नवनिर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारका रूपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा उक्त कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ ।


Author

थप समाचार
x