पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन
पर्वत- पर्वत जिल्लामा करोडाैँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालनमा भएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल तथा अनाज भण्डारण नगरी सिधँै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यानगृह छन् ।
जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा दुई दशकलव पाँच मेट्रिक टन क्षमताका चिस्यानगृहमा सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ ।
“हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गछौँ, सोही अनुसार सञ्चालनमासमेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन सकेका छैनौँ”, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले भनिन् ।
उनले राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माण पश्चातका जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत् लगायतका पक्षमासमेत यथोचित ध्यान दिनुपर्ने बताइन् ।
थापाले चिस्यागृह निर्माण गरे पनि किसानले भण्डारण नगरी ठेक्कामै उत्पादन बिक्री गर्ने परिपाटी विकसित हुँदै गएको बताइन् । कृषि उपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञानको अभावमा फसल लामो समयको लागि स्टोर गर्न समस्या भएको देखिएको उहाँको तर्क छ ।
पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको चिस्यानगृहमा भने आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको चिस्यानगृहमा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषि उपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए ।
उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको बताउनुभयो । यसैगरी पैँयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यानगृह निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन। पैँयूँको चिस्यानगृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैयूँ गाउँपालिकाको रु ११ लाख लगानी रहेको छ ।
विद्युत् जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैयूँ कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले जानकारी दिए ।
“छिट्टै विद्युत्को काम सकेर स्टोर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ”, उनले भने । त्यस्तै गरी जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको चिस्यानगृह भने भौतिक संरचना निर्माणमा भएको ढिलाइका कारण हालसम्म पनि अलपत्र अवस्थामा छ ।
“राज्य तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माण पश्चातको व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यानगृह अपेक्षा अनुसार सफल हुन नसकेका हुन्”, किसान सरोज खनालले भने ।
चिस्यानगृहहरु अपेक्षाअनुसार किसानका लागि उपयोगी हुन सकिरहेका छैनन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, विद्युतिकरणको अभावलगायतका पक्षमा र यथोचित व्यवस्थापन हुन नसक्दा समस्या सिर्जना भएको किसान उमाकान्त शर्माले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया