‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु
काठमाडौँ - ‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको मंगलबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे ।
एक्स्पोमा ४० वटा स्टल रहेका छन् । दश वटा स्टार्ट अप बिजनेशका स्टल रहेका छन् । भर्खरै उद्यमशील बनेका युवाहरूबीच ‘बिजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा गराउँदैछ । उत्कृष्ट हुनेले नगद रु एक लाख पुरस्कार पाउने छ ।
एक्स्पोको उद्घाटन कार्यक्रममा उपप्रमुख अधिकारीले नेपाली उत्पादनको प्रवर्द्धनका लागि एक्स्पोले सहयोग पुग्ने बताए । महागनरले पनि बेलाबखत सीपमूलक तालिमको आयोजना गर्दै आएको भन्दै उहाँले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए । 'स्थानीय उत्पादन वृद्धि र रोजगार सिर्जना गराउने काममा युवा उद्यमीसँग सहकार्य गर्न महानगर सदैव तयार छ', उनले भने ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशमा सीप सिकेर आएका युवालाई स्वदेशमा नै उत्पादनसँग जोड्न एक्स्पोले मद्दत पुग्ने विश्वास व्यक्त गरे । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले नेपाली उत्पादनले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताए । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम ‘मेक इन नेपाल’लाई ‘मेड इन नेपाल एक्स्पो’ले सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया