‘अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ’
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् ।
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि यातायात प्राधिकरण आवश्यक रहेको उल्लेख गरे ।
'चिकित्सकको तथ्यांक राख्ने मेडिकल काउन्सिल, इन्जिनियरको तथ्यांक राख्ने इन्जिनियरिङ काउन्सिल, वकिलको तथ्यांक राख्ने बार काउन्सिल भएजस्तै यातायात व्यवसायीको तथ्यांक राख्न काउन्सिलसहितको प्राधिकरण आवश्यक छ', उनले भने ।
नेता बिडारीले विमानस्थलमा सञ्चालित सवारीसाधनले स्वदेशी तथा विदेशी पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताए । 'विमानस्थलमा सञ्चालित यातायातले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ', उनले भने ।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले विमानस्थल क्षेत्रको यातायातलाई व्यवस्थित गर्नसके अन्तर्राष्ट्रियस्तरमा नेपालको सन्देश राम्रो जाने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले विदेशी पर्यटकको पहिलो नजर विमानस्थल क्षेत्रमा पर्ने भएकाले यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताए । विमानस्थलमा सञ्चालित सवारी साधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई राम्रो सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम, नेपाल मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, नेपाल यातायात मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल मजदुर सङ्गठनका अध्यक्ष दीपक केसीलगायतले ट्राफिक प्रहरीले यातायात जरिमाना चर्को लगाउँदा व्यवसायी तथा मजदुरलाई समस्या परेको बताए ।
व्यवस्था लिमिटेडका कार्यवाहक अध्यक्ष एवं प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले स्वदेशी तथा विदेशी पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताए । नेपालमा हवाईमार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल दुई सय आठ सवारी साधनबाट सेवा प्रदान गर्दैआएको सिंखडाले बताए ।
सो अवसरमा उत्कृष्ट तीन चालक, तीन सहचालक र तीन कर्मचारीलाई जनही रु पाँच हजार १०० पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया