अर्थ / बाणिज्य

अर्थतन्त्रका कुनै क्षेत्र ऋणात्मक नहुने, प्रतिव्यक्ति आय १,१९१ डलर

पुष्पराज आचार्य |
बैशाख १७, २०७८ शुक्रबार १८:३० बजे

काठमाडौँ : कोरोना भाइरस महामारीका कारण २०७६को चैतदेखि २०७७ असारसम्म लकडाउन भएपछि उक्त आर्थिक वर्षमा नेपालको अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भयो । गत वर्ष खासगरी होटल तथा हस्पिट्यालिटी क्षेत्र, यातायात, थोक र खुद्रा व्यापार, औद्योगिक उत्पादन, निर्माण र खानी तथा खनिजको क्षेत्र ऋणात्मक भएकाले समग्र अर्थतन्त्र नै संकुचित हुन पुगेको थियो । 


गत आर्थिक वर्ष अर्थतन्त्र ऋणात्मक भएकाले पनि २०७७ को कात्तिकदेखि यस वर्ष मध्य वैशाखसम्म आर्थिक क्रियाकलाप सहज ढङ्गले सञ्चालन भैरहेकाले आर्थिक वृद्धिदर सुधार भइ अर्थतन्त्र ३.९८ अर्थात् झण्डै ४ प्रतिशतले विस्तार हुने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । यद्यपि दुई साताभन्दा बढी निषेधाज्ञा लगायत आर्थिक गतिविधिलाई अवरोध गर्ने नियम जारी राख्नुपर्ने अवस्थामा चाहिँ आर्थिक वृद्धिदर अनुमानित ४ प्रतिशतभन्दा कम पनि हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ । 

गत आर्थिक वर्ष २०७६–७७ मा पनि सरकारले जेठदेखि आर्थिक क्रियाकलाप पूर्ववत सामान्य अवस्थामा आउने अनुमानका आधारमा विभागले आर्थिक वृद्धिदर २.२७ प्रतिशत कायम हुने अनुमान गरेकोमा बन्दाबन्दी लम्बिएपछि उक्त गत आर्थिक वर्षमा अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको विभागको संशोधित अनुमान छ । गत आर्थिक वर्षमा ४० वर्षपछि नेपाली अर्थतन्त्र संकुचनमा परेको थियो । आर्थिक वर्ष २०२१-२२ देखि कुल गार्हस्थ उत्पादन मापन गर्न थालेयता २०७६/७७ मा आर्थिक वृद्धिदर चौथोपटक ऋणात्मक भएको हो । आर्थिक वर्ष २०२३/२४ र २०२९/३० मा पनि आर्थिक वृद्धिदर ऋणात्मक थियो । त्यतिबेला कृषि नै कुल गार्हस्थ उत्पादनको प्रमुख क्षेत्र थियो । धानको उत्पादनमा ठूलो गिरावट आउँदा आर्थिक वृद्धिदर नै ऋणात्मक हुन्थ्यो । तर गत आर्थिक वर्षमा भने कोभिड–१९ महामारीले उद्यम, व्यवसायमा लामो समयसम्म गहिरो संकटमा पुर्‍याएपछि अर्थतन्त्र संकुचित भएको हो ।  चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण अनुसार, यदि कोभिड–१९ को असर दुई साताभित्रै न्यूनीकरण भएर आर्थिक गतिविधि पूर्ववत सामान्य अवस्थामा सञ्चालन भएमा नेपालको आर्थिक वृद्धि ‘भी सेप’ (अंग्रेजी वर्णमालाको भी आकार) मा हुने भएको हो । 

अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २६.४ प्रतिशत, औद्योगिक उत्पादन तथा विधुत, ग्यास र पानीको योगदान १२.५ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१.१ प्रतिशत रहेको प्रक्षेपण छ । उपभोक्ता मूल्यमा नेपाली अर्थतन्त्रको आकार २०७७–७८ मा ४२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि २०७६–७७ मा अर्थतन्त्रको आकार ३९ खर्ब १४ अर्ब रहेको संशोधित अनुमान छ । नेपालको उपभोग खर्च पनि उच्च देखिएको छ । २०७७–७८ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ९३.३८ प्रतिशत अर्थात् ३९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७–७८ मा वस्तु र सेवाको आयात जीडीपीको ३२.८३ र निर्यात ५.०८ प्रतिशत रहेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक लाख ४० हजार आठ सय १९ रुपैयाँ अर्थात् एक हजार एक सय ९१ अमेरिकी डलर पुगेको छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x