अर्थ / बाणिज्य

पशु बिमा कार्यक्रम अलपत्र

इकागज |
पुस ३०, २०७९ शनिबार २०:३९ बजे

फाइल तस्बिर

खोटाङ- खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एक आर्थिक वर्षपछि नै पशु बिमा कार्यक्रम अलपत्र परेको छ । पशु पालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा पशु बिमा कार्यक्रम सुरु गरेको थियो ।

सुरुका वर्ष १७ वटा बाख्रा र ६ वटा बंगुरको बिमा गरेका किसानले आर्थिक वर्ष २०७६/०७७ बाट पशु बिमा नवीकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए । 


वर्षदिनको अवधिमा किसानले दुई वटा बाख्राको बिमा वापतको रकम पाएका थिए । कतिपय किसानले पशु बिमा दावी गर्न आउँदा बिमा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काइएको थियो ।

नेपाल सरकारको केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको समन्वयमा पशु बिमा सुरु गरेको लुम्बिनी इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभावमा वीमा नवीकरण गर्न नसकेको जनाइएको छ । बिमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु विमा गर्न सहयोग गरेका थिए । पशु  बिमालाई पुन: निरन्तरता दिनका लागि पहल भइरहेको पशु सेवा शाखाका प्रमुख राजभण्डारीले बताए ।

ग्रामीण क्षेत्रका किसानको मुख्य सम्पत्तिका रूपमा रहेका गाई, भैंसी, बंगुर मर्दा हुने आर्थिक क्षतिबाट जोगाउनका लागि गाउँपालिकामा पशु बिमा कार्यक्रम लागू गरिएको थियो । बिमा गरेको एक वर्षभित्र पशु मरे वा क्षति पुगेमा किसानलाई बिमांक रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी गाउँपालिकामा पशु बिमा सुरु गरिएको थियो । 


Author

थप समाचार
x