अर्थ / बाणिज्य

रोजगारी सिर्जना गर्न सामूहिक लगानी आवश्यक : अध्यक्ष मल्ल

इकागज |
माघ १, २०७९ आइतबार १६:९ बजे

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानी मार्फत उद्यमशीलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष मल्लले भने,‘आर्थिक विकास र सम्बृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ । प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा विदेशीन बाध्य भइरहेका छन, ।’ उद्योग तथा साना व्यवसायमा सामूहिक लगानी मार्फत नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए । 


कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाइ छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरि योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराए । 
विद्यार्थीले विश्वविद्यालयमा पठन पाठनसँगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाइदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष मल्ले जोड दिए ।  सामूहिक लगानीमार्फत आर्थिक सम्बृद्धि र रोजगारी सिर्जना गर्न सकिने अध्यक्ष मल्लको तर्क छ । 


Author

थप समाचार
x