अर्थ / बाणिज्य

चीनमा अवसर खोज्दै नेपाली व्यापारी

अजय अलौकिक |
कात्तिक २९, २०७७ शनिबार ११:५८ बजे

साङहाई :   तेस्रो चीन आयात एक्स्पोमा भाग लिन साङहाई आएका नेपाली व्यापारीहरू एक्स्पो समापनपछि हाल चीनका अरू सहरमा व्यापार र अवसर खोज्दैछन् । नोभेम्बर ५ देखि १० सम्म तेस्रो चीन आयात एक्स्पोमा सहभागिता जनाएपछि नेपाली व्यापारीहरूको एक टोली नोभेम्बर १३ देखि यिवु शहरमा आयोजित एक्स्पोमा पुगेका छन् । साथै, उनीहरू नोभेम्बर-१९ देखि बेइजिङमा आयोजना हुने एक्स्पोमा सहभागी हुने तयारीमा पनि छन् ।

कोही नेपाली व्यापारीहरू काठमाण्डुबाट क्वानचौ त कोही छङ्तु पुगेर १४ दिन क्‍वारेन्टाइन बसी साङहाईमा आयोजित तेस्रो चीन आयात एक्स्पोमा भाग लिन पुगेका थिए । महामारीबीच महँगो हवाई भाडा साथै १४ दिनको क्‍वारेन्टाइन बसाइको बढी खर्च भए तापनि एक्स्पो सहभागिता सफल रहेको नेपाली व्यापारीहरूको भनाइ छ ।


काठमाडौंबाट क्‍वानचौ पुगेर १४ दिनको क्‍वरेन्टाइन बसेर साङहाई पुगेका नेपाल आर्ट ट्रेडर्सका प्रकाश रत्‍न तुलाधर यसो भन्छन्, 'एक्स्पोमा भाग लिन आएका हामी सबै कतै पोजिटिभ देखिने पो हो कि भनेर तनावमा थियौं, तर त्यस्तो अवस्था आएन । साङहाई पुगेर सफलताका साथ एक्स्पोमा सहभागी पनि भयौं ।'

उनले चीनले कोभिड-१९ महामारीलाई सफलताका साथ नियन्त्रण गरेको अनुभव पनि सुनाए । महामारीको नियन्त्रण गरिसकेको प्रमाण नै यो वृहत् आयात एक्स्पो हो, उनले भने । यो एक्स्पो आयात आधारित भएकोले नेपालले चीनसँग व्यापार घाटा कम गर्ने एउटा माध्यम समेत भएको पनि बताए । यस मेलामा त नेपाल सरकारले एउटा योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ, उनले भने ।

तुलाधर चीनमा आयोजना हुने विभिन्न एक्स्पोमा वर्षमा बाह्र, तेह्र पटक नै सहभागिता जनाउँदै आए तापनि चीन आयात एक्स्पोमा पहिलो पटक सहभागी भएका हुन् । तुलाधर मात्रै होइन पश्मिना तथा हस्तकला सम्बन्धित् एञ्‍जल ह्याण्ड्स पोखराका शंकर कोइरालाको पनि यो एक्स्पोमा सहभागिता पहिलो पटक हो । यस महामारीबीच पनि सोचेको भन्दा एक्स्पो सहभागिता सफल रहेको कोइराला बताउँछन् । अरू एक्स्पोहरूमा प्रत्यक्ष विक्री गर्न सकिन्छ भने यो एक्स्पो भनेको बिजनेस-टू-बिजनेस रहेकोले यो तुरून्त कति व्यापार भयो भन्ने होइन लङ टर्मसम्म जाने हो, कोइरालाले भने । उच्चकोटीका व्यापारी तथा ग्राहकबीच वार्ता भएको र अर्डरहरू पाएको यी दुई व्यापारीको भनाइ छ ।

कोइराला गत वर्षदेखि साङहाईमा नै बसेर नेपाली वस्तुको व्यापार तथा प्रवर्द्धन गर्दैआएका छन् । हालै साङहाईमा एक जना सङ्क्रमित देखिएको थियो, त्यस लगत्तै सरकारले त्यस क्षेत्रका ८ हजार व्यक्तिको परीक्षण गरेको थियो र हाल अरू सङ्क्रमित देखिएको छैन् । कोइरालाले पनि उक्त समाचार पढेको र चीनले सहज रूपमा नियन्त्रण गर्नसक्नेमा ढुक्क रहेको बताए । बरू नेपालमा नेपालीलाई सतर्क रहन अनुरोध गर्दछु, उनले भने । उनी साङहाईबाट बेइजिङ जाँदै छन् भने तुलाधरलगायत अरू व्यापारीहरू यिवुपछि बेइजिङ पुग्ने छन् । 

यसै गरी साङहाई चीन आयात एक्स्पोमा दोस्रो पटक सहभागिता जनाएका एभरेष्ट थांका ट्रेडर्सका श्रीगोपाल श्रेष्ठ भने महामारीका कारण यस पटकको एक्स्पोमा गत वर्षको तुलनामा ग्राहकको संख्यामा कमी रहेको बताए । 'म धेरै वर्षदेखि चीन आउँदै गरेको छु, धेरै एक्स्पोमा सहभागिता जनाउँदैआएको छु तर गत वर्षको साङहाईको चीन आयात एक्स्पो जस्तो कहिले देखेको छैन,' उनले भने, 'यो वर्ष पनि सबै कुरा उत्कृष्ट थियो । शायद यस पटक महामारीका कारण ग्राहक कम आएका होलान् ।' 

उनी पनि साङहाईपछि यिवु पुगेका छन् । यिवुमा आयोजना भइरहेको चाइना यिवु इम्पोर्टेड कम्युनिटी फेयर (नोभेम्बर १३ देखि १६) मा त्यहाँको स्थानीय सरकारले विभिन्न देशलाई निशुल्क रूपमा बुथ उपलब्ध गराएको पनि उनले बताए । त्यहाँ नेपाल मण्डप भनेर ठाउँ नै उपलब्ध गराएको पनि उनले बताए । यस पटक साङहाईमा आयोजित तेस्रो चीन आयात एक्स्पोमा भने नेपाल मण्डपको निर्माण गरिएको थिएन ।

कोइराला र तुलाधरजस्तै श्रेष्ठ पनि नोभेम्बर १९ देखि बेइजिङमा आयोजना हुने एक्स्पोमा सहभागी हुने छन् । बेइजिङ एक्स्पोको आधारमा चीनका अरू शहरहरूमा आयोजना हुने एक्स्पोमा सहभागी हुने नहुने निधो गर्ने उनको र अरू साथीहरूको विचार रहेको उनको भनाइ छ । बेइजिङपछि नानचिङ, नाननिङ फेरि पनि साङहाईलगायतका सहरहरूमा एक्स्पो आयोजना हुन लागेको जानकारी उनीहरूसँग रहेको बताए । यसरी नेपाली व्यापारीहरू नेपाल र नेपाली वस्तु प्रवर्द्धन तथा व्यापार गर्दै चीनका विभिन्न सहरमा अवसर र लाभ खोज्दै छन् । 
 


Author

थप समाचार
x