अर्थ / बाणिज्य

बाँकेमा चिनीको चोरी, पैठारी बढ्दै

इकागज |
माघ ४, २०७९ बुधबार २०:३६ बजे

फाइल फोटो

बाँके - नेपालगञ्ज भन्सारबाट चिनीको आयात कोटा प्रणालीमा हुने भएपछि चिनीको चोरी, पैठारी हुने गरेको छ । चिनीमा ४० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि चिनीको चोरी, पैठारी हुने गरेको हो । 'जुन वस्तुमा भन्सार महसुल बढी हुन्छ त्यस्तो वस्तुको चोरी, पैठारी बढी हुन्छ', भन्सार अधिकृत शर्माले भने ।  

भारतले चिनी आयातमा प्रतिबन्ध लगाएपछि बरुण वेभरेज र बोटलर्स नेपालले नेपालगञ्ज भन्सार हुँदै करिब ५०० मेट्रिक टन चिनी नेपाल भित्र्याउने गरेको छ तर पनि नेपाली बजारमा भारतीय चिनी छयाप्छयाप्ती देखिएको छ । गत असारमा मात्रै नेपालगञ्जस्थित बजारबाट चार सय २० बोरा अवैधरूपमा ल्याइएको चिनी प्रहरीले बरामद गरेको थियो । करिब २१ टन सो चिनी रु २२ लाखमा लिलामीसमेत भइसकेको भन्सार कार्यालय, नेपालगञ्जले जनाएको छ । चिनीबाट गत आर्थिक वर्षमा मात्रै रु एक अर्ब १४ करोड राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु ५० करोड राजश्व उठेको छ । 


यसबाहेक गहुँ र मैदामा पनि भारतले प्रतिबन्ध लगाए पनि यसको चोरी पैठारी हुने गरेको पाइएको छ तर गहुँ र मैदाको कोटा प्रणाली लागू नभएको र कोटा प्रणाली दिने सूचना आएको भन्सार अधिकृत शर्माले जानकारी दिए । 

गहुँको कृषि शुल्क नौ प्रतिशत रहेको छ । मैदाको भन्सार शुल्क १० प्रतिशत रहेको छ । चोरी गरेर ल्याएको करिब २४ टन गहुँ गत कात्तिकमा प्रहरीले डुडुवा गाउँपालिकाबाट बरामद गरेको थियो । 


Author

थप समाचार
x