अर्थ / बाणिज्य

किवीफलबाट मनग्गे आम्दानी, भण्डारणको समस्या भोग्दै किसान

इकागज |
माघ ९, २०७९ सोमबार १२:५८ बजे

काठमाडौँ- डडेल्धुराका किसानहरूले किवी फल बिक्री गरी मनग्गे आम्दानी गर्ने गरेका छन् । किवीबाट किसानहरूले वार्षिक लाखौं रकम आम्दानी गर्न सफल भएका छन । 

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिक किवी खेती हुन थालेको छ । किसानहरूले भाले र पोथी जातका किवीफलको व्यावसायिक खेती गर्न थालेका हुन् । 


किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउने, पाचन प्रकृया सहज, शारिरिक तौल घटने, छाला रोग हटने, आँखाको दृष्टि बढाउने, क्यान्सर रोग न्यूनीकरण, चिसोपनामा कमी लगायत गर्भवती महिलालाई समेत स्वास्थ्यमा भएका प्रतिकूल समस्याहरूलाई राहत र समाधान गर्ने महत्वपूर्ण फलको रुपमा मानिएको छ ।

 अमरगढी नगरपालिका—१ दह का अगुवा कृषक गणेश बहादुर ऐरले ३० लाख बराबरको स्वलगानीमा  १० रोपनीमा किवी खेती गरि वार्षिक ४० क्वीन्टल किवी फलको उत्पादन लिएर दशौं लाख आम्दानी गरेका छन भने अन्य ठाउँका किसानहरूले पनि किवी फलको व्यावसायिक खेतीबाट मनग्गे आम्दानी गरेका छन । 
पहाडी भूगोलको किवी बढि गुणस्तरिय भएकोले डडेल्धुराको किवी तराई र काठमाण्डौं सम्म निर्यात गर्न सफल भए पनि भण्डारणको अभावमा जिल्लाका करिब ६० जना किवी किसानहरू मार्कामा परेको कृषक ऐर बताउँछन । 

जिल्लामा एउटा मात्र शीत भण्डार छ त्यो पनि कहिले आलुले ठाउँ नपुग्ने भएकाले किवी फल भण्डारणमा समस्या भएको शितभण्डार संचालकको भनाइ छ । किवी फललाई भण्डारण गर्न शीत भण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुरामा छलफल भए अनुसार सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयमा विभागीय छलफल पनि भइरहेको र सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्र डडेल्धुरा जिल्लामा किवीका लागि विशेष कोल्ड चेम्बर निर्माणका लागि प्रस्ताव भएको कुरामा सकारात्मक जवाफ आएकोले ढिलोचाँडो निर्माण हुनेमा आफू विश्वस्त रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । 

डडेल्धुराबाट उत्पादन हुने किवीफलको बजार खुद्रा मूल्य सुरुमा ५ सय रहे पनि उत्पादन बृद्धि हुँदै गए पछि अहिले दुई सय पचास देखि तीन सयसम्म भएको किसान बेदप्रकाश भट्टले बताए । अहिले पनि किवीको बिक्री सहज ढंगले भइरहेको छ, सामान्यतः अरु फल भन्दा महँगो देखिए पनि औषधीय रुपले महत्वपूर्ण भएकोले किवीफल खाने उपभोक्ता पनि बढेका छन, घरमै पनि लैजान आउने भएकाले यसको उत्पादनमा अरु किसान पनि आकर्षित भएको उनले बताए । चिसो मौसममा उत्पादन हुने किवीफल बेमौसममा पनि उपभोक्तालाई बजारमा उपलब्ध हुने गरि व्यावसायिक खेती प्रबर्द्धन, उत्पादन र व्यवस्थापन गर्न जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ ।  


Author

थप समाचार
x