अर्थ / बाणिज्य

साना उद्योगहरूको पहुँच विस्तार गर्न आवश्यक : अध्यक्ष गोल्छा

इकागज |
माघ ९, २०७९ सोमबार १४:४९ बजे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरूको पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरूको पहुँच विस्तार गरी तीनै तहका उद्योगहरूले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।


गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरू दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योगहरू दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने उनले विश्वास व्यक्त गरे । उनका अनुसार साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको छ । बैंकहरूको महंगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भइरहेको गोल्छाकाे भनाइ छ ।

उनले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरेकाे पनि उनले जिकिर गरे ।

उनले करिब ५० प्रतिशत उद्योगहरू दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । उनले कतिपय उद्योगहरू झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको बताए ।

अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त रहेको पनि बताए ।

अध्यक्ष गोल्छाले एसएमइ क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनैतिक र नीतिगत प्रतिबद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको उल्लेख गरे ।


Author

थप समाचार
x