भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम : अर्थमन्त्री पौडेल
फाइल फोटो
काठमाडौँ - उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् ।
७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार विन्दुबाट हुने चुहावट बढदै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।
भन्सार विन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजार सोही वस्तुको मौज्दात नै बढी हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चूनौति दिने काम भएको उनले बताए । उनले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताए ।
अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा यस आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरे । राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिने गरिएको भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले राजस्व संकलन गर्ने अभिभारा संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राखे ।
राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न उनले निर्देशन दिए ।
उनले भन्सार क्षेत्रलाई थप आधुनिकीकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिवद्ध रहेको धारणा राखे । अन्तराष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया