निजी क्षेत्रको मनोबल उच्च भए मात्रै उद्योग क्षेत्रमा लगानी बढ्छ : व्यवसायी
फाइल तस्बिर
काठमाडौँ- सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्न सकेमात्रै निजी क्षेत्रको मनोबल उच्च हुने व्यवसायीहरूले बताएका छन् ।
चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको व्यवसायीहरूले बताएका हन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्नसके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुने उल्लेख गरे ।
उनीहरूले निजी क्षेत्रको मनोबल उच्च भए मात्रै उद्योग क्षेत्रमा लगानी बढ्ने दाबी गरे । उनीहरूले विगतमा सरकारले लिएका अर्थनीतिहरूमा एक्कासि परिमार्जन गर्दा अर्थतन्त्रमा देखिएका समस्याले उद्योगी व्यवसायीहरू मारमा परेको बताए । अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर बजारमा गरेको कडाइका कारण अर्थतन्त्रमा समस्या देखिएको उनीहरूकाे भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्रलाई माथि उकास्न आवश्यक रहेको जिकिर गरे । उनले पछिल्लो समय तरलता, शोधानान्तर स्थितिमा अर्थतन्त्र बचेको अवस्था रहेको बताए । नेपालको अर्थतन्त्र बंगलादेश, श्रीलंका र पाकिस्तानको भन्दा धेरै राम्रो अवस्थामा रहेको उनकाे भनाइ छ ।
सरकारले मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि लगानीयोग्य रकम स्थानीय तहसम्म प्रवाह हुन जरुरी रहेको उनी बताउँछन् । अध्यक्ष गोल्छाले स्थानीय तहसम्म लगानीयोग्य रकम कसरी प्रवाह हुनसके मात्रै बजार चलायमान हुने बताए ।
त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले वर्तमान सरकारको पहिलो आवश्यकता निजी क्षेत्रको मनोबल कसरी उच्च बनाउनेमा केन्द्रित हुनुपर्ने बताए । उनले पछिल्लो समय निजी क्षेत्र बैंकको उच्च ब्याजजदरका कारण समस्यामा रहेको भन्दै बैंकको बेसरेट र निक्षेपको ब्याजदर वृद्धि गर्दा कर्जाको ब्याजदरमा समेत उच्च भएको बताए ।
बैंकहरूले विगतमा पैसा धेरै हुँदा २ प्रतिशतसम्म कर्जा दिएर अहिले ७ प्रतिशतसम्म ब्याजदर कायम गर्दा बैंकको ब्याजदर उच्च भएर निजी क्षेत्र मारमा परेको दाबी उनले गरे । नेपालको अनौपचारिक अर्थतन्त्र भनेको कालोधन नभएको उनकाे भनाइ छ ।
अग्रवालले विगतमा कमाएको पैसालाई अभिलेखीकरण नगरेकाले अहिले त्यो पैसा बैंकिङ प्रणालीमा आउन नसकेको भन्दै बैंकिङ च्यालनमा आउन स्रोत देखाउनुपर्ने अवस्था रहेको उल्लेख गरे । जुन देशका उद्योगी व्यवसायीहरूसँग पैसा हुँदैन त्यो देशले कहिल्यै पनि समृद्धि हासिल गर्न नसक्ने उनकाे धारणा छ ।
उपाध्यक्ष अग्रवालले सरकारले आर्थिक नीतिहरू समय अनुकूल मात्रै परिमार्जन गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया