अर्थ / बाणिज्य

'लगानीकर्ताको हितका लागि धेरै ऐन, नीति, निर्देशनहरू संशोधन तथा परिमार्जन गरेका छौं'

इकागज |
माघ २३, २०७९ सोमबार १९:२० बजे

काठमाडौँ- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताहरूको हितका लागि धेरै ऐन, नीति, निर्देशनहरू संशोधन तथा परिमार्जन गरेको दाबी गरेका छन् ।

सोमबार ललितपुरमा बोर्डको कार्य सम्पादन, निष्कासन अनुमति प्रकृया र विद्यमान अवस्था सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा हमालले लगानीकर्ताहरूको हितका लागि पुँजी बजारको विकास र विस्तारका कामहरू गरेको दाबी गरेका हुन् । उनले पारदर्शी गुणस्तरीय, निष्पक्ष र प्रतिस्पर्धी पुँजी बजार निर्माणका लागि अझै बढी काम गर्ने बताए ।


धितोपत्र बोर्डको इतिहासमै पहिलो पटक क्रेडिट रेटिङ्ग कम्पनीलाई कारबाही समेत गरेको र स्वार्थ बाझिएको कम्पनीलाई कारबाही गरिएको उनले उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक सेयर निष्कासनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाइएको, वस्तु विनिमय संयन्त्र विकासका लागि आवश्यक कार्य अगाडि बढाइएको पनि जानकारी दिए ।

त्यस्तै हमालले पुराना ब्रोकर कम्पनीहरूलाई शाखा सञ्जाल विस्तार गर्न निवेदन दिएको १५ दिनभित्रै अनुमति दिनुपर्ने सिस्टम बनाउनका लागि काम अघि बढाएको बताए । धितोपत्र सम्बन्धी ऐन र नियमावली, निर्देशिका र विनियमावली अनुरूप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरूलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको उनकाे भनाइ छ ।

अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यवस्थापकीय एवं अर्थतन्त्र विस्तारमा नवीनतम सुरुवात मार्फत धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन २०७८ फागुनमा आफ्नो नियुक्ति भएको र अहिले सुधारका काम गरेपछि आफूविरुद्ध नियोजित आरोपहरू लगाइएको तर्क गरे ।

कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको पनि उनले बताए ।


Author

थप समाचार
x