आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ६ महिनामा १५ करोड राजस्व संकलन
फाइल फोटो
जुम्ला - आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्यालयको राजस्व संकलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय प्रमुख खेमनारायण रेग्मीले जानकारी दिए ।
कार्यालयको सोही लक्ष्यअनुसार वार्षिक राजस्व असुली हुने उनले उल्लेख गरे । गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजस्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैंकमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनुलगायतका कारणले राजस्व कम उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ ।
चालु आवको छ महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।
कार्यालयको तथ्यांकनुसार तीन जिल्लामा कूल ३० हजार दुई सय ८४ जना करदाता रहेका छन् । सबैभन्दा बढी आयकरतर्फ १४ हजार एक सय ७७ जना करदाता रहेका छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार एक सय ७७ र भ्याटतर्फ एक हजार तीन सय ९८ जना रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालयमा पाँच जनाको अधिकृतस्तरको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन । छ जनाको नायब सुब्बाको दरबन्दी रहेको कार्यालयमा अहिले दुई जना मात्र रहेकाले स्थानीयस्तरमै कर शिक्षा र बजार अनुगमन गर्ने कठिन भएको छ ।
दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालयलाई काम गर्ने सकस भएको कार्यालय प्रमुख रेग्मीले बताए । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर काम गर्न लागिपरेको सो कार्यालयले जनाएको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया