स्वदेशी सफ्टवेयरको प्रयोग बढाउने गरी नीति-नियम बनाउन सरकारसँग क्यानको माग
काठमाडौँ- कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सरकारी निकायहरूमा स्वदेशमा नै बनेका सफ्टवेयरहरूको प्रयोग बढाउने गरी नीति–नियमहरू बनाउन सरकारसँग माग गरेको छ ।
क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारले सरकारसँग सो माग राखेका हुन् । मंगलबारबाट काठमाडौँमा सुरु भएको २५ औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।
शून्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धी सबै सामानहरू मध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे ।
यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि विशेष थलो हुने बताइएको छ । सो इन्फोटेकलाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको पनि क्यान महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया