अर्थ / बाणिज्य

अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

इकागज |
माघ २८, २०७९ शनिबार १२:५० बजे

फाइल तस्बिर

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् । शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको  ४६औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन् । 

उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए । लामो समयदेखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएशनले गर्दै आएको मागमा सरकार गम्भीर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै उनले बताए । 


उनले अटोमोबाइल्समा विलासिताका सवारी साधन भए पनि अटोमोबाइल्स विलासिताको वस्तुको रुपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुविधा हुन नसक्ने बताए । अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भए पनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे । 

अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताए । उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको उल्लेख गरे । उनले विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उनको भनाइ छ  ।


Author

थप समाचार
x