अर्थ / बाणिज्य

दुई अर्ब ४२ करोड लागत, तीन वर्षमा बनाइ सक्‍ने लक्ष्य

विराटनगर विमानस्थलमा आन्तरिकतर्फ अहिलेसम्मै ठूलो टर्मिनल भवनको शिलान्यास

बाबुराम भण्डारी |
फागुन १, २०७९ सोमबार १२:४६ बजे

विराटनगर - विराटनगर विमानस्थलमा १६ हजार २७७ वर्ग मिटरको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण काम अघि बढेको छ । टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार शिलान्यास गरेका हुन् । विराटनगर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन भैरहवा र पोखरा विमानस्थलमा निर्माण भएका विमानस्थलमा निर्माण भएका टर्मिनल भवनभन्दा ठूलो हो ।


आयोजनाअन्तर्गत उडान अवतरणको 'पिक आवर' ट्राफिकमा १ हजार ८०० यात्रु धान्न सक्ने गरी टर्मिनल भवनको डिजाइन गरिएको जनाइएको छ । पोखरा विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटर र गौतमबुद्ध विमानस्थल भैरहवाको टर्मिनल भवन १४ हजार वर्ग मिटर रहेकोले विराटनगरमा निर्माण हुने टर्मिनल भवन आन्तरिकतर्फ सवैभन्दा ठुलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

टर्मिनल भवन निर्माणका लागि भ्याटबाहेक कुल २ अर्ब ४२ अर्ब रुपैयाँ लागत रहेको छ । निर्माणको ठेक्का केसी–डाँफे जेभीले पाएको छ । आगामी तीन वर्षभित्र टर्मिनल भवन निर्माण गरिसक्नुपर्ने सम्झौता भएको जनाइएको छ ।

टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री किराँतीले समयमै काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरे । समयमै सक्नुका साथै गुणस्तरीय काम गर्न पनि मन्त्री किराँतीले निर्देशन दिए ।

विराटनगर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माणको शिलान्यासले पूर्वी नेपालकै हवाई उड्डयनमा कोसेढुंगा हुने उनले दाबी गरे ।

शिलान्यास कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने काम अघि बढ्न नसकेकोमा मन्त्री किराँतीसँग असन्तुष्टि पोखे । तर टर्मिनल भवन निर्माणको थालनीले केही आशा पलाएको भन्दै अहिलेलाई आधी मात्रै धन्यवाद दिने बताए ।

मेयर कोइरालाले निर्माण व्यवसायीले समयमा काम नसके विराटनगरबासीले नछाड्ने चेतावनी पनि दिए । टर्मिनल भवनसँगै पार्किङ, एक्सेस रोड, वाटर ट्रिटमेन्ट, ढल निकास, संचार प्रणाली लगायतका संरचनाहरू बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जीनियर प्रदीप अधिकारीले जानकारी दिए ।

विराटनगर विमानस्थलमा बन्ने नयाँ टर्मिनल भवनलाई नेपालकै ठूलो आन्तरिक तर्फको टर्मिनल भवन रहेकोले मुलतः आन्तरिक हवाई यात्रुको लागि डिजाइनको बताए । त्यसका साथै क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरिएको, आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रुलाई पनि सोही टर्मिनल भवनबाट सुविधा दिन सकिने गरी ठाउँको व्यवस्थापन मिलाइएको महानिर्देशक अधिकारीले बताए ।

अहिलेको विराटनगर विमानस्थलमा १ हजार ५०० मिटर लम्बाईको धावनमार्ग रहेको छ । जसमा एटिआर ७२ र ड्यास–८ जस्ता मझौला विमानहरूले सेवा संचालन गर्दै आइरहेका छन् । हाल संचालनमा रहेको टर्मिनल भवन अत्यन्तै साँधुरो भएका कारण त्यसलाई केही मर्मत सम्भार गरेर काम चलाइँदै आएको छ ।

विराटनगर विमानस्थललाई तीन हजार मिटरको धावनमार्गसहितको अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नती गर्ने योजनाअन्तर्गत २०७७ असोज १९ मा विराटनगर महानगरपालिका, प्रदेश १ सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विराटनगरमै त्रिपक्षीय सम्झौता भएको थियो ।

तीन तहका सरकारहरूबीच सह–लगानीमा निर्माण गर्ने योजना अनुसार विमानस्थल स्तरोन्नतिका लागि महानगरपालिकाले १० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र बाँकी ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने शर्तमा सम्झौता भएको थियो ।

प्रदेश १ सरकारको २०७५ असार १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रक्रिया तत्काल अघि बढाउन संघीय सरकारसँग आग्रह गरिएको थियो । संघ सरकारले पनि आर्थिक बर्ष ०७५–७६ को बजेट वक्तव्यमा विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरी छिमेकी मुलुकसम्म उडान सुरु गर्ने उल्लेख गरेको थियो ।

विराटनगर विमानस्थललाई प्रदेशकै गौरवको आयोजनाका रूपमा अघि बढाउने प्रयास त्यसपछि भने अघि बढ्न सकेको छैन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विराटनगर विमानस्थलको स्तरोन्नतिको बजेट नै कटौती गरिदिएका थिए । विराटनगर विमानस्थलमा एयर बस ए–३२० वा सो सरहका जहाजको उडान अवतरण हुनसक्ने गरी २ हजार ५०० मिटर लामो धावनमार्ग तयार गर्ने गुरुयोजना पनि अब अघि बढ्ने महानिर्देशक अधिकारीले बताए ।

अहिले विमानस्थलसँग भएको मौजुदा जग्गामा नै थप २७० मिटर धावनमार्ग बढाउने गरी विमानस्थल विस्तारको काम अघि बढाउने तयारी भइरहेको उनले बताए । त्यसले हाल संचालनमा रहेका बायुयानहरूको उडान अवतरणलाई थप सुरक्षित बन्ने उनले जानकारी दिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x