त्रिभुवन विमानस्थल अध्यागमनको कामप्रति पर्यटनमन्त्री किराँती असन्तुष्ट
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको अध्यागमनको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ लगायतले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले विमानस्थलका समस्याहरू अध्यागमनले समाधान गर्नुपर्नेमा त्यसो हुन नसकेको रिपोर्ट आउने भन्दै असन्तुष्टि जनाएका हुन् ।
अहिले मोबाइल ल्याउने व्यवस्था, ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्थामा सरकारको नीतिविपरीत अध्यागमनले नियन्त्रणमा लिने काम गरेको उनको भनाइ छ । उनले विमानस्थलको सर्भर डाउन हुँदा हजारौँ यात्रु समस्यामा परेको भन्दै अध्यागमनले समयमा नै समाधान गर्न नसकेको बताए ।
त्यस्तै मन्त्री किरातीले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने र केही प्रक्रियागत कारणले ढिलाइ भइरहेको धारणा राखे । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिए ।
उनले पर्यटनसँग उत्पादन जोड्नुपर्ने भन्दै मन्त्रालयले छिट्टै सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवर्द्धनको रणनीति तयार गरिने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया