सीमामा जनतालाई सास्ती तस्करलाई मस्ती
वीरगञ्ज- जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनासम्म ३० वटा लागूपदार्थको मुद्दा दर्ता गरेको छ। भारतको रक्सौलबाट वीरगञ्ज ल्याइएका अधिकांश लागूऔषध वीरगञ्ज भन्सार वा आइसीपी कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ। केही समयदेखि नेपाल-भारतबीच बढेको अवैध कारोबारले गर्दा हुन्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ।
नेपाल-भारतबीचको सबै सीमानाकामा सँगै खटिएका जनपथ र सशस्त्र प्रहरीले सधैं कडा चेकजाँच गर्दै आएपनि करोडौँका सामानहरू वीरगञ्ज आसपास क्षेत्रको गोदामबाट प्रहरीले छापा मारेर पक्राउ गर्दै आएको छ। पुष महिनामा मात्र ६ करोडभन्दा बढीको तस्करीका सामानहरू पर्सा प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाएको छ।
यति मात्र होइन, पर्सा प्रहरीका लागि लागूऔषधको कारोबार नियन्त्रण सधैंको चुनौतीको विषय रहेको छ। हुन्डीको कारोबारमा भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ ५ रुपैयाँको दरले बलियो भएको छ। नेपालबाट लागूपदार्थ र सुनको तस्करी बढेका कारण त्यसा भुक्तानी हुन्डीको माध्यमबाट नेपालमा आइरहेकोले पनि १ सय ५५ नेपालीमा भारतीय एक सय रुपैयाँको दरले कारोबार भइरहेको व्यापारीहरू बताउँछन्। जिल्ला प्रहरी प्रमुखमा कोमल शाह आएदेखि तस्करी र रुपैयाँको अवैध कारोबार नियन्त्रणमा कडाइ बढाएका छन्। परिणाम स्वरूप हुन्डीदेखि लागूऔषधका कारोबारीहरू व्यापक रूपमा पक्राउ परिरहेका छन्। तर, जिल्ला भित्र पक्राउन हुने सबै हुन्डीको रकम तथा लागूपर्दाथ यही सीमानाका भएर आएको छ।
केही दिन अगाडि मात्रै वीरगञ्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय श्यामकिशोरप्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैयाँँसहित पक्राउ गरेको हो। साहलाई वीरगञ्ज १६ रजत जयन्ति चोकस्थित सडकबाट गत साता पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले नै पत्रकार सम्मेलनमा जानकारी दिए। तर, पक्राउ परेका उक्त व्यक्ति भन्सार नाकामा हुने गरेको सबै परीक्षण सहजै कसरी पार गरे ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन।
खासमा मुलुकमा प्रजातन्त्र आएको तीन दशक भएको छ। प्रजातन्त्रमा जनताको मौलिक अधिकार सर्वोपरी हुन्छ, कानुनी राजमा दश अपराधी छुटे पनि एक निर्दोष नफसोस् भन्ने हुन्छ। तर, नेपाली सुरक्षातन्त्रको कामकारबाही पुरानै पञ्चायती पारामा चलेको देखिन्छ। नेपाल-भारत सीमामा सशस्त्र प्रहरी र पछाडि जनपथ प्रहरी खटिएका हुन्छ। नाकाबाट नेपाल आउने हरेक सर्वसाधारणलाई सुरक्षाकर्मीको भाषामा चेकजाँच अर्थात परीक्षण भएकै हुन्छ। सशस्त्र प्रहरीले परीक्षण गरिरहँदा केही पर पछाडि उभिएका जनपथ प्रहरी हरिरहेका हुन्छन्, सामुन्ने आएपछि पुन: परीक्षण गर्ने उनीहरूको जिम्मेवारी पनि हुन्छ। तर, तराई हरेक जिल्लाको भित्री बजार वा शहर तथा गोदामहरूबाट करोडौँको तस्करीको सामान पक्राउ हुने गरेको छ। हरेका सीमानाकाबाट नुनदेखि सुनसम्मको तस्करी हुने गरेको छ। तर, सीमामा खटिने प्रहरीलाई खासै कारबाही भएको देखिँदैन।
वीरगञ्ज मुलुककै मूल प्रवेशद्वार हो। आर्थिक राजधानीका रूपमा चिनिएको यो सहरले राज्यद्वारा असुल हुने करको सबैभन्दा हिस्सा बेहोर्दै आएको छ। सामाजिक र सांस्कृतिक विविधताले भरिएको मध्य तराईको यो आर्थिक महानगरमा रहेको नेपाल–भारत, सीमा–नाका अर्थात आईसीपी र सुख्खा बन्दरगाहमा रहेको भन्सार मार्फत देशलाई राजस्वको सर्वाधिक ठूलो हिस्सा अर्थात् ४३ प्रतिशत राजस्व बुझाउँदै आएको छ। अनि राजधानी काठमाडौं लैजाने ७५ प्रतिशत सामग्री यही सहर हुँदै पठाइन्छ। सरकारले पाउने कूल औद्योगिक कर मध्ये वीरगञ्ज क्षेत्रमा रहेका उद्योगबाट ४० प्रतिशत राजस्व संकलन हुन्छ। यसर्थमा वीरगञ्ज सिंगै देशको ‘लाइफ लाइन’पनि हो। तर, सीमानाकामा सबैभन्दा बढी सास्ती यहीको जनतालाई भोग्नु परेको छ। भारतको रक्सौलबाट घरायसी सामानहरू खरिद गरेर ल्याउँदा अनेकौ चेकचाँजबाट गुज्रिनु पर्ने बाध्यता समेत रहेको छ।
वीरगञ्जको भन्सार क्षेत्रको आधा किलो मिटरमा, आधा दर्जनभन्दा बढी चेकजाँच हुने गरेको छ। तर, पनि यस नाकाबाट नुनदेखि सुनसम्मको खुलेआम तस्करी हुन्छ। आधा किलोमिटरमा आधा दर्जनभन्दा बढी परीक्षण तर पनि खुलेआम तस्करी, देख्दा र सुन्दा आश्चर्य लाग्न सक्छ। तर, यस्तो अजबको परीक्षण र गजबको तस्करी मुलुककै मुख्य प्रवेशद्वार वीरगञ्ज भन्सार नाकामा हुने गरेको छ।
भारतको रक्सौलबाट प्रवेश गर्दा, नेपाल–भारत मितेरी पुल कट्ने बित्तिकै सुरु ह'न्छ सशस्त्र प्रहरीको चेकजाँच। त्यसपछि शंकराचार्यद्वार नजिकै कोराेनाको डेस्क र लगत्तै इनर्वा प्रहरी चौकीको चेकजाँच कटेपछि भन्सार कार्यालयका जाँचकीहरूको चेकजाँच। अनि सँगै रहेको पुन: सशस्त्र प्रहरीको चेकजाँच र केही मिटरमै फेरि रजत जयन्ती चोक नजिकै जनपथ प्रहरीको चेकजाँच हुने गरेको छ।
मुलुककै प्रवेशद्वारका रूपमा रहेको वीरगञ्ज भन्सार कार्यालय भएर आउने जो कोही नवआगन्तुकलाई नेपाल प्रवेश गर्न यतिको कडा चेकजाँच भएर कटिनु पर्दछ। नेपाल-भारतको यो सीमानाकामा आपतकालकै अवस्था जस्तै परीक्षण कटेर प्रत्येक भारतीय पर्यटकलाई गुज्रिनु पर्ने बाध्यता नै छ। तर, सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन।
यति कडा चेकजाँच हुँदा पनि नुनदेखि सुन र लागूपदार्थदेखि हतियारसम्म, सबैथोक यो नाकाबाट सहजै आउजाउ भइरहेको हुन्छ कसरी ? तस्करी र अपराध नियन्त्रणभन्दा पनि यो भन्सार क्षेत्रमा हुने गरेको चेकजाँच सम्बन्धित सबै निकायको, सबै कारोबारबारे जानकारी र भागीदारी मुख्य उद्देश्य भएको स्थानीयको आरोप छ। यो भन्सार कार्यालय क्षेत्र र मुलुककै प्रवेशद्वारमा जति परीक्षण त्यति आम्दानीको आरोपलाई नकार्न सकिँदैन। सशस्त्र र जनपथ प्रहरी होस वा भन्सारको जाँचकी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असुली गरिरहेको यहाँको ‘कटुसत्य’ पनि हो।
गत साताको अन्त्यतिर बिहान भारतको पटना गइरहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सबै परीक्षण भएर रक्सौल पुगे। तर, फरक यति मात्र थियो की उनीसँग रहेको प्रहरीको स्कर्टिङले केही छिनमै उनलाई सबै नाका कटायो। भन्सार क्षेत्रमा भइरहेको परीक्षणको मुख्य उद्देश्य पैसा उठाउने मात्रै भएको आरोप नेकपा समाजवादी पार्टीका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीको छ। मनोजको भनाइमा, यति चेकजाँचको आवश्यकता नै छैन, एक ठाउँमा नभए पनि जनपथ, सशस्त्र र भन्सारको जाँचकी तीन ठाउँले पुगी हाल्छ। यो सर्वसाधारणलाई दु:ख दिने उद्देश्य मात्र हो।
आधा किलो मिटरमा आधा दर्जन चेकजाँच, अवस्थाको बाध्यता मात्रै भएको पर्सा प्रहरीको बुझाइ रहेको छ। सीमानाकाको सुरक्षा र चोरी पैठारीको जिम्मेवारी सशस्त्र प्रहरीको र सुरक्षाको जिम्मा जनपथ प्रहरीको भएकोले विभिन्न ठाउँमा चेकजाँच हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् नायब प्रहरी उपरीक्षक दीपक गिरी बताउँछन्।
आर्थिक सम्भावना बोक्ने मुख्य सहरहरू खोजी गर्नुपर्यो भने मानिसहरू सुरुको लहरमै वीरगञ्जलाई सम्झन्छन्। वीरगञ्जको वैभव र समृद्धिको आकांक्षा पुनर्जागृत हुने कुरा चुनावको बेला दल तथा उम्मेदवारहरूको भाषणमा मात्रै सीमित देखिएको छ। सुरक्षा वा तस्करी नियन्त्रणको बहानामा सीमावर्ती आर्थिक महानगरी वीरगञ्ज र आसपासका सर्वसाधारणलाई जति शोषण गरे पनि यहाँका जनप्रतिनिधिहरूको घैटोमा घाम लाग्ने गरेको छैन। श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया