अर्थ / बाणिज्य

शेयर सदस्यको पैसा बोकेर सहकारी सञ्चालक भागेपछि...

इकागज |
फागुन १०, २०७९ बुधबार १९:२३ बजे

मकवानपुर । मकवानपुरको हेटौंडा उपहमानगरपालिका ४, पारिजातपथमा कार्यालय सञ्चालन गर्दै आएको शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुले संकलित बचत लिएर भागेको भन्दै शेयर सदस्यहरु आन्दोलित भएका छन् । कार्यालयमा तल्चा लगाएर सञ्चालक फरार भएपछि शेयर सदस्यहरु समस्यामा परेका छन् ।

सञ्चालक फरार भएपछि शेयर सदस्य बचतकर्ताको करोडौं रुपैयाँ बचत जोखिममा परेको छ । बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरूले ढोकामा ताल्चा लगाएको देखेपछि अन्य शेयर सदस्यहरूलाई बोलाएर आन्दोलन गरेको बचतकर्ता बिमल उप्रेतीले बताए । भक्तपुरमा रहेको यो सहकारीले २०७७ पुसमा हेटौँडामा शाखा खोलेको थियो ।


यो शाखा सहकारीको १६ औं शाखा हो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री गर्दै आएको थियो । सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्ट घेराबन्दी गरेका छन् । सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ता उप्रेतीले बताए । “हामीले घटना थाहा पाएपछि फोन गरेको सबैको फोन स्वीचअफ छ, सबै भागिसके भन्ने सुन्नमा आएको छ” उप्रेतिले भने । उप्रेतीका अनुसार सहकारीमा हेटौंडाबासीको करोडौं रुपैयाँ बचत रहेको छ । “एउटै व्यक्तिको ८६ लाखसम्म छ, १० लाखदेखि ३० लाखसम्म बचत गर्ने त धेरै हुनुहुन्छ” उनले भने ।

शिव शिखरसँग हेटौँडावासीहरूले बचत फिर्ता मागेको घटना करिब एक महिना अगाडिदेखिको हो । सहकारीले करिब १ महिना अघि नै ढोकामा ताल्चा लगाएको थियो । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो । रकम फिर्ता गर्ने सहमतिको म्यादसमेत गुज्रिइसकेको र हाल सञ्चालकहरू फरार भएपछि बचतकर्ताको बचत जोखिममा परेको बचतकर्ता सुवास चौलागाईले बताए । उनी आफैंको पनि डेढ लाख बचत रहेको उनले बताए ।


Author

थप समाचार
x