रहरले गाईपालनसँगै खेतबारीमा रमाउने खड्का
काठमाडौं- काठमाडौं महानगरपालिका–१४ खड्का गाउँका मधुसुदन खड्का बिहानै ४ बजे उठ्छन् । उनको यो हतारा कुनै वाध्यताको हैन उनले रोजेको सोखको कारण हो । यो समयमा उनको घरै अगाडिबाट सयौं मानिसहरू नियमित बिहानी हिँडाइमा गइरहेका हुन्छन् तर उनी भने आफूले रहरले पाल्ने गरेको गाईको सुसारमा व्यस्त हुन्छन् ।
७५ वर्ष उमेर नाघिसकेका उनको काठमाडौं महानगरपालिकाभित्रै प्रशस्तै जग्गा जमिन र घर छ । उनी सरकारी जागिरको पेन्सन पनि बुझ्छन् । छोराले आप्mनै उद्योग सञ्चालन गरेका छन् । यसरी हेर्दा उनले दूध खानको लागि गाई पाल्नै पर्र्ने जरुरत छैन । वरिपरि किनेरै खान पनि ताजा दूध उपलब्ध छ तर पनि उनले आफैँ स्याहारेको गाईको दूध पिउनको लागि यो दुःख व्योहोरिरहेका छन् । बिहान गाईको स्याहार सुसार गरिसकेपछि दूध दुहुने अनि तताउने कार्यमा व्यस्त हुन्छन् । अनि मात्रै निस्किन्छन् साथी भाइसँग गफिइन खड्का ।
खड्काको हरेक दैनिकी गाइको सेवामै बित्छ । उनी यसमै रमाउँछन् । बहिान खाना खाएपछि हरेक दिन उनी गाईलाई गोठबाट निकाली जोडो मौसममा घाममा र गर्मी मौसममा छहारीमा सारेर दिनभरी त्यही गाइलाई मुसार्ने, खुवाउने तथा सरसफाइ गर्ने गर्दछन् ।
‘यसरी गाईसँग समय व्यतित गर्न थालेको ७२ वर्ष बित्यो,’ उनी भन्छन् । उनलाई ३ वर्षको हुँदादेखि घरमा गाई भैंसीसँगै देखेको सम्झना छ । ‘उतिबेला ५ पैसा लिएर स्कुल जान पाए टन्न अघाइन्थ्यो ।’ उनले भने ।
आफूलाई चाहिने दूध मात्र होइन, पेट भर्न चाहिने अन्न बाली पनि यो परिवारले आफैँ उमार्छ । उनकी श्रीमती र बुहारीहरु पनि उनी जस्तै बिहानैदेखि खेतबारीमा व्यस्त हुने गर्दछन् । धान, गहँु तोरी जस्ता अन्न बालीका साथै आफूलाई आवश्यक पर्ने तरकारी आफैँ उब्जाउने गर्छन् । ‘यसरी बिहानदेखि बेलुकीसम्म यस्ता गतिविधिमा व्यस्त हुँदा शरीर पनि फुर्तिलो हुनुको साथै रोग पनि लाग्दैन ।’ उनले भने ‘आफ्नो खेतबारी बाँझै राखेर आफू सुती सुती खाएर के फाइदा, सकेको काम आफैले गर्दा के फरक पर्छ ?’ आखिर सबैले त्यस्तै ग¥यो भने हाम्रो देश झनै परनिर्भर हँुदैन र ?’उनले प्रश्न गरे ।
खड्का महिलाहरु आप्mनो भएको खेतबारी खेतालालाई जिम्मा दिने अनि आफूहरु विभिन्न रोग लाग्यो भनेर बिहान बिहान हिड्ने चलनको बिरोधी रहेको बताउँछन् ।
‘अब गर्न सक्ने काम पनि नगरेर बसेपछि रोग त लागिहाल्छ नि,’ उनको भनाइ छ ।
काठमाडौं उपत्यका वरिपरि यसरी पशुपालन तथा खेतीपाति गर्ने खड्का जस्तै केही अन्य मानिसहरू पनि पाउन सकिन्छ जसले पुर्खेनी रहनसहनलाई निरन्तरता दिएका छन् । जग्गा जमिन भएकाहरुलाई त पशुपालन गर्न केही हदसम्म सजिलै भएको होला तर यस्तो नभएको खण्डमा खोजी गरी गरी खरिदमा पाइने दाना, पराल तथा भुस किनेरमात्र यसलाई निरन्तरता दिन नसकिने निर्णयमा पुगिसकेका छन् । कतिपय भने यस्तो क्रियाकलाप गर्न जग्गा जमिनले साथ दिने भएपनि यस्तो झन्झट किन ब्यहोर्ने ? बजारमा सजिलै किनेर उपभोग गर्न पाइहालिन्छ नि भन्ने सोचेर जमिन बाँझै राख्ने वा बिक्री गर्ने गरेका छन् ।
दैनिक जीवनमा आवश्यक सबैकुरा अरुमा निर्भर भइरहेको अहिलेको समाजमा जग्गा जमिन हुने र काम गर्न सक्नेले केही हदसम्म मात्र भएपनि यस्तो काम गरेमा परनिर्भरता कम गर्न सकिने खड्काको विचार छ । तर अहिलेको समाजमा यस्तो सोचको कुनै मूल्य नभएको पनि उनको अनुभव छ । तर आफू भने जिउले साथ दिउन्जेल, यसरी नै जीवन निर्वाह गर्ने उनको सोच छ ।
पुरी प्रशिक्षार्थी पत्रकार हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया