अर्थ / बाणिज्य

दोलखामा निषेधाज्ञा सुरू भएपछि मध्य भोटेकोशीको आइपिओ रोकियो

इकागज |
बैशाख २३, २०७८ बिहीबार १४:३६ बजे

काठमाडौं : स्थानीयवासीका लागि खुलेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) स्थगन भएको छ । बिहीबारबाट दोलखामा निषेधाज्ञा सुरू भएपछि कम्पनीको आइपिओ स्थगित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिए ।

'बिहीबारबाट निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालयले निर्णयपछि इस्यु म्यानेजर ग्लोबल आइएमइ क्यापिटलसँग छलफल गरेर आइपिओ स्थगन गरिएको छ,' शिवाकोटीले भने, 'अब निषेधाज्ञा नखुलेसम्म आइपिओ निष्काशन स्थगित नै राखिनेछ ।'

मध्य भोटेकोशीको आइपिओ स्थगनबारे औपचारिक जानकारी नआएको धितोपत्र बोर्डकी सूचना अधिकारी दिपा दहालले बताइन् । उनले भनिन्, 'धितोपत्र बोर्डले आइपिओ निष्काशन रोक्न निर्देशन दिएको छैन । बोर्डले रोक्ने विषय पनि होइन । इस्यु म्यानेजर र कम्पनीबीचको सहमतिमा रोक्ने सहमति भएको हुनसक्छ ।'

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्रतिसेयर १०० अंकित दरका कूल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि छुटाइएको छ भने बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई छुटाइएको छ ।

कम्पनीले बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।



Author

थप समाचार
x