अर्थ / बाणिज्य

निगमका पाइलटले न्यारो बडी हार्ड ल्याण्डिङ भएको लुकाए

एक पाइलट ब्रिटिश आई.डी. धारी

विकास थापा |
बैशाख २३, २०७८ बिहीबार १४:४८ बजे

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एउटा न्यारो बडी (९ एन एकेएक्स) हेभी ल्याण्डिङ गरेको खुलेको छ । गत वैशाख १६ गते दुबईबाट काठमाडौं आएको जहाज त्रिभुवन विमानस्थलमा ९:३५ मा अवतरण गर्दा १.८ जी फ्याक्टरमा हेभी ल्याण्डिङ गरेको हो । १.७ जी भन्दा माथि ल्याण्ड भएमा त्यो हेभी वा हार्ड ल्याण्डिङ हुने गर्छ ।

एक सय पचास जना यात्रु लिएर आएको उक्त जहाज हेभी ल्याण्डिङ भएपछि पाइलटहरुले निगम व्यवस्थापनलाई कुनै जानकारी नदिएको निगम स्रोतले बतायो । ती क्याप्टेनहरुले हेभी ल्याण्डिङ भएको भनेर लगबुकमा पनि लेखेनन् । बरु कम्प्युटरले हेभी ल्याण्डिङ भयो भनेर निकालेको कागज खल्तीमा हालेर हिंडे । 


हेभी ल्याण्डिङ भएपछि उक्त जहाजले सातवटा उडान भरेको स्रोतले बतायो । उक्त जहाज क्याप्टेन सोनी राणा र प्रशान्त राईले उडाएका थिए । ‘पछि उनीहरूले साथीभाइसँग हेभी ल्याण्डिङ गरेको भनेपछि हिजो बुधबार निगममा गाईगुई चल्न थालेको हो,’ स्रोतले भन्यो, ‘१.८ जी मा ल्याण्ड गरेको रहेछ ।’

विमानको नियमानुसार १.७ जी भन्दा तलका माप हेभी ल्याण्डिङमा पर्दैन । गत पुस २४ गते निगमको एउटा वाइडबडी २.४ जी मा ल्याण्ड हुँदा क्याप्टेन महेश्‍वरमान डंगोल र क्याप्टेन सुनील श्रेष्ठलाई निगमले कारबाही गरेको थियो । उनीहरुले हार्ड ल्याण्डिङ भएपछि लगबुकमा नलेखेको, जानकारी दिने कम्प्युटरलाई ब्लक गरेको आरोपमा निगमले दुई महिनाको तलबै दिएन । ग्रेड रोक्का गरी पुनः सिनियर प्रशिक्षकसँग तालिम र क्लास लिन लगाएको थियो ।

हार्ड ल्याण्डिङ भएपछि त्यसको भौतिक असर जहाजका विभिन्‍न संवेदनशील पार्टपूर्जामा परेको हुन्छ । हार्ड ल्याण्डिङ गरेपछि जहाजकै कम्प्युटर जानकारी दिने गर्छ । जानकारी दिंदादिंदै त्यसलाई रोक्ने, निगम व्यवस्थापनलाई थाहा नदिने गर्नु अनैतिक मानिन्छ । 

पाइलटले मानवीय त्रुटि वा प्राविधिक व्यवस्थापन गर्न नसक्दा र मौसममा गडबडी हुँदा हार्ड ल्याण्डिङ हुने गर्छ । हार्ड ल्याण्डिङ भएपछि विमान उत्पादक कम्पनीको एसओपी (मानक सञ्चालन प्रक्रिया) अनुसार विमानका पार्टपूर्जा परीक्षण गर्नुपर्ने हुन्छ । 

करिब पाँच महिनाअघि क्याप्टेन सञ्‍जय वैद्य र गृष्म श्रेष्ठले १.७ जी मा हार्ड ल्याण्डिङ गर्दा पनि निगमले कारबाही गरेको थियो । तर उनीहरुले जानकारी दिएकाले कडा कारबाही भएको थिएन । 

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले हार्ड ल्याण्डिङ भए/नभएको बारे आफूलाई जानकारी नभएको बताए । ‘औपचारिक वा अनौपचारिक तवरमा यसबारे मेरो जानकारीमा आएको छैन,’ पौडेलले बिहीबार इकागजसँग भने, ‘भएको रहेछ भने कारबाही गरिन्छ, कसैलाई छाडिंदैन ।’

पौडेलका अनुसार हार्ड ल्याण्डिङ प्राविधिक विषय मात्र नभई गर्नैपर्ने अवस्थामा कारण खुलाएर व्यवस्थापनलाई जानकारी दिनैपर्छ । ‘प्रक्रिया नमान्‍नेउपर कारबाही हुन्छ, विगतमा हामीले गरेका पनि छौं,’ उनको भनाइ थियो ।

आई.डी. धारी पाइलट

हार्ड ल्याण्डिङ गराउने  क्याप्टेन राई बेलायतको आई.डी. धारी हुन् । सन् १९८६ मा लण्डनमा जन्मेका राईले वाइड बडी जहाजको तालिम लिने बेलामा बेलायती दूतावासलाई आई.डी. समर्पण गरिसकेको छु भनेर चिठी लेखेका थिए । आधिकारिक रुपमा आई.डी. त्याग गरे/नगरेको निगमले छानबिन गरेको छैन ।

गत जुलाईमा निगमका केही पाइलटलाई कोरोना भएपछि राई तीन महिना लण्डन गएर बसेका थिए । हरेक दुई, दुई वर्षमा आई.डी नवीकरण गर्नुपर्छ । त्यसैका लागि उनी तीन महिना लण्डन बसी नवीकरण गरे, यता निगमले तलब खुवाइरहेको थियो । 

यसैगरी प्रबन्ध निर्देशक पौडेलले बिट्रिश आई.डी. धारी क्याप्टेन प्रशान्त राईको वास्तविकता निगमले छानबिन गर्ने बताए । नेपालको कानुनअनुसार विदेशी मुलुकको पीआर, आई.डी, नागरिकता लिएको व्यक्ति सरकारी सेवामा अयोग्य हुन्छ । यस्तो व्यवस्था तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ल्याएका थिए ।
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x