अर्थ / बाणिज्य

एकल अंकको व्यजदर कायम गर्ने प्रधानमन्त्री दाहालको आश्वासन, उद्योगी व्यवसायीको आन्दोलन फिर्ता

इकागज |
फागुन ३०, २०७९ मंगलबार १९:५२ बजे

विराटनगर । बैंकको चर्को व्याजदरविरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरुले घोषित विरोध प्रदर्शनका सवै कार्यक्रम फिर्ता लिएका छन् । 
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्योगी व्यवसायीहरुको माग बमोजिम एकल अंकको व्याजदर कायम गर्न पहल गर्ने आश्वासन दिएपछि प्रधानमन्त्रीकै आग्रहमा आन्दोलन फिर्ता लिएको बताएका छन् । 

निजी क्षेत्रले उठाएका बिषयहरुलाई सरकारले गम्भीर भएर लिएको भन्दै प्रधानमन्त्री दाहालले समस्या समाधान गर्न प्रतिवद्ध देखिनु भएको छलफलमा सहभागी राष्ट्रिय सभा सदस्य गोपी अछामीले जानकारी दिए । समस्या समाधान गर्ने आश्वासन दिएका कारण आन्दोलन फिर्ता लिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।


निजी क्षेत्रको साझेदारका रुपमा रहेको बैंकबाट हामीमाथि भएको गैर व्यवसायी व्यवहारले निर्णायक  आन्दोलनमा जानुपर्ने अवस्था बनेको थियो’ अध्यक्ष रिजालले भने, ‘हाम्रा समस्याका बिषयमा प्रधानमन्त्रीज्यूले नै चासो राखेपछि हामीले आज भेटेर आफ्ना सवै कुरा राखेका थियौं, वहाँले एकल अंकको व्याजदर कुनैपनि हालतमा लागू गर्ने प्रतिवद्धता जनाउनु भयो, हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं ।’

अध्यक्ष रिजालले प्रधानमन्त्री दाहालले उद्योगी व्यवसायीको समस्या समाधान गरेरै छाड्ने प्रतिवद्धता जनाएको जानकारी दिए । ब्याजदर लगायतका बिषयमा बैंक तथा वित्तीय समस्या संघर्ष समिति नै बनाएर आन्दोलित भएका उद्योगी व्यवसायीहरुले चार दिनयता काठमाडौं केन्द्रीत आन्दोलन थालेका थिए । उनीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेराउ गरेका थिए भने आइतबार माइतिघर मण्डलामा प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

उद्योगीहरुले आन्दोलन चर्काउँदै लगेपछि मंगलबार बेलुका प्रधानमन्त्री दाहाल र उद्योगी व्यवसायीका प्रतिनिधिहरुबीच छलफल भएको हो । उद्योगी व्यवसायीको नेतृत्व गरेका नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठसहित जिल्लास्थित उद्योगी व्यवसायी सम्वद्ध संघसंस्थाका प्रतिनिधिहरु छलफलमा सहभागी थिए । 

‘एकल अंकको व्याजदर लागू गराएरै छाड्नु भन्नु भएको छ, उद्योगी व्यवसायीले अब आत्महत्या गर्नुपर्ने अवस्था आउँदैन भन्नु भएको छ’ रिजालले भने, ‘प्रधानमन्त्रीबाटै यति कुरा आएपछि समस्या समाधान हुन्छ भनेर हामी अब हामी जिल्ला फर्किने तयारीमा लागेका छौं ।’


Author

थप समाचार
x