अर्थ / बाणिज्य

सुनकोसीका सबै सडक स्तरोन्नति हुँदै

इकागज |
चैत १, २०७९ बुधबार १२:५८ बजे

चौतारा- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो ।     
    
उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नाका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ । सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन् ।    
    
पालिकाभित्रका सडकको वर्गीकरण गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाले बताए । आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने उनको भनाइ छ । “सडक चौडा, नाला निर्माणलगायत काममा के–कति खर्च लाग्छ,सबै जनताका अघि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ”, वडा नं ६ का पूर्ववडाध्यक्ष रामकुमार थापाले भने ।    



Author

थप समाचार
x