अर्थ / बाणिज्य

सटर भाडा महंगो र कर बढेपछि बन्द हुन थाले पसल

इकागज |
चैत ३, २०७९ शुक्रबार १६:५९ बजे

भैरहवा । एक वर्षदेखि सिद्धार्थनगर गल्लामण्डी क्षेत्रमा चियानास्ताको पसल गर्दै आएका मोहम्मद समिम अहिले पसल सार्दैमा व्यस्त छन् । ५० हजार अग्रिम बुझाएर एक वर्षअघि पसल सुचारु गरेका उनले १५ हजारका दरले भाडा दिने सहमतिअनुसार व्यवसाय गर्दै आएका थिए । 

पसलको आम्दानीबाट जसो तसो भाडा तिर्दै आएका उनलाई घरधनीले अहिले भाडा बढाउँदा बाध्यताले पसल अन्त सार्नुपरेको छ । मुख्य सडकमा रहेको पसल अहिले बढी भाडाकै कारण भित्री ठाँउमा सारिएको छ ।


‘जसोतसो भाडा तिर्दै आएको थिएँ । घरधनीले भाडा कि २० हजार गर्नु पर्‍यो कि सटर खाली गर्न पर्‍यो भने,’ समिमले दुखेसो पोखे, ‘अन्ततः घरधनीले भनेको भाडा तिर्न सक्ने अवस्था नभएकोले पसल सार्नुपर्‍यो ।’ 

मर्चवारका प्रेमनाथ बरई भैरहवा आवारोडमा मोबाइल मर्मतको काम गर्दै आएका थिए । सानो सटरको १५ हजार भाडा तिर्दै आएका उनले अहिले पसल बन्द गरी खाली बसेका छन । व्यापारभन्दा बढी सटर भाडा छ । व्यवसायबाट भाडा तिर्न सक्ने अवस्था नै नभएकोले बन्द गर्नुपरेको उनी सुनाउँछन् । 

समिम र बरई त केवल उदाहरण हुन्, रुपन्देहीको भित्री मात्रै होइन मुख्य बजारमा पनि अहिले यही अवस्था छ । व्यावसायिक सटर भाडाका लागि तँछाडमछाड गर्ने मुख्य बजारका सटर अहिले खाली भएको व्यानर जताततै देख्न सकिन्छ । व्यस्त तथा मुख्य बजारका सटरहरू भाडाका लागि मरिहत्ते गर्ने व्यवसायीहरू अहिले भने खाली गरेर पलायन भइरहेका छन् । आर्थिक संकट, व्यवसाय न्यून र घरधनीको ज्यादतीले व्यवसायिक सटरहरू खाली हुँदै गइरहेका छन् । 

भैरहवाको मुख्य बजारहरूमा ‘टू लेट’, ‘सटर खाली’, ‘घर भाडामा’ लगायतसहितका पोष्टर तथा बोर्डहरू देखिने क्रम बढेको छ । आवासीयभन्दा पनि व्यावसायिक प्रयोजनमा प्रयोग भएका भवनहरू पछिल्लो समय खाली हुने क्रम बढ्दो छ । भाडाकै लागि तँछाडमछाड गर्ने व्यवसायीहरू नै अहिले सटर खाली गर्दै गइरहेका छन् ।

ठूला व्यवसायीहरू जेनतेन गरी व्यवसाय सुचारु गरे पनि बाहिरबाट आएका व्यवसायी र सोही व्यवसायबाट जीविकोपार्जन गर्नेहरू पनि बिक्री न्यून हुँदा भाडासमेत तिर्न सक्ने अवस्था नरहेपछि पसल नै बन्द गर्ने गरेका छन् । गुजाराका लागि स–सानो व्यापार गर्नेहरू पनि भाडा तिर्न नसकेपछि सटर नै छोड्नु परेको गुनासो आउने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्यले बताए । 

गाउँबाट सहर बजारतर्फ केही गर्न भनेर आएका युवा जगत पनि गाउँ फर्किने लर्को छ । कोभिडले देश फर्केका नेपालीहरू पनि यही केही गरौं भनेर उद्योग व्यवसायमा लागेकाहरू पनि बिस्तारै विदेशिने गरेकाले सटर तथा कोठा तथा फ्ल्याटहरू खाली हुँदै गइरहेका छन् ।

स्थानीय सरकारले लगाएको घरबहाल कर, घर भाडामा घरधनीको ज्यादती र अचाक्ली भाडा दरले पनि व्यवसायीहरू तनावमा सटरहरू छोड्दै गइरहेका छन् । एकतर्फ वित्तीय संस्थाहरूको मानसिक तनाव दिएका छन् भने घरधनीहरूले पनि पनि मनपरी ढंगले भाडा दर कायम गर्दा भएको व्यवसायीहरू पनि उठ्नु पर्ने अवस्था आएको सिद्धार्थ उद्योग वाािणज्य संघका निवर्तमान अध्यक्ष भिष्म न्यौपानेले भने । ​

नियमन गर्ने निकाय पनि अनुगमन नगरेर मौन बस्दा व्यवसायीहरू संकटमा पर्दै गएका छन् । आर्थिक संकटको समयमा भाडामा सहुलियत दिनुको साटो विभिन्न शिर्षक र कारण देखाई भाडामा लुटतन्त्र भइरहेको उनले गुनासोे गरे । 

‘सटरको भाडा १० हजार छ । तर, नगरपालिकाले त्यही सटरको भाडा २५ हजार तोकेर घर बहाल कर लिइरहेको छ । यो पनि एउटा समस्या रहेको छ,’ घरधनी तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भने । 

आफ्नो सम्पत्तिकाे भाडा दर आफूले तोक्नु पर्ने अधिकार हुँदाहुँदै स्थानीय सरकारको कार्यविधिले व्यवसायीहरूलाई समस्या पर्दै गएको छ । ‘मेरो सटरको भाडा दर मैले तोक्ने हो, भाडामा गएपछि बहाल कर बुझाउनु पर्नेमा नगरपालिकाको दररेटअनुसार बहाल कर बुझाउनु परेको छ । १० रुपैयाको कारोबार गरे ५० रुपैयाँको कर लिइरहेको छ । यो सरासर गलत हो,’ शर्माले भने । 

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नगरपालिकाले एकलौटी रुपमा असीमित भाडा दररेट कायम गरेको बताए । निजी क्षेत्रको सुझावलाई नजरअन्दाज गरी राजश्व परामर्श समिति भाडा दर तोकेको छ यो घटाउनुपर्ने उनले बताए । ‘अत्याधिक भाडा दरकै कारण व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था  यसमा नगरपालिकाले संशोधन गर्नुपर्छ । करैकरको चपेटामा हामी व्यवसायीहरू परेका छौँ, अहिले व्यवसायिक सटरहरू खाली हुनुको कारण पनि यही हो,’ श्रेष्ठले भने । 

सिद्धार्थनगर नगरपालिका राजश्व शाखा प्रमुख अमित श्रेष्ठले आर्थिक वर्ष २०७८÷७९ मा २ हजार १०४ करदाताले  ३ करोड ३७ लाख ६६ हजार घरबहाल कर तिरेका छन्। गत वर्षभन्दा अहिले करको दर परिवर्तन भएपनि न्यूनतम भाडा दर नगरपालिकाले निर्धारण गरेर त्यसको १० प्रतिशत घरबहाल कर व्यवसायिक सटरहरूबाट लिँदै आएको छ । 

नगरपालिकाले निर्धारण गरेको दररेटमा घटाउनुपर्ने प्रस्ताव अहिलेको नगरसभामा राजश्व परामर्श समितिले लगे पनि पास नभएको बताए । विगतको वर्षमा लिँदै आएको घरबहाल कर भने यो आर्थिक वर्षबाट केही शिर्षकमा घटेको छ । 

मान्छेको आर्थिक आय आर्जनको स्रोतमा संकुचन आएपछि छोडेर गइरहेको व्यवसायीहरू बताउँछन् । भारतीय सीमा क्षेत्रको बजारले पनि भैरहवामा व्यवसायीलाई असर गरेको छ । घर भाडा अनियन्त्रित रुपमा बढेपछि कतिपय मानिसले खाली गरेर जानु पर्ने बाध्यता छ भने मान्छेसँग आर्थिक आयआर्जनको स्रोतमा कमी, अनियन्त्रित वृद्धि र महंगीले पनि व्यवसायी पलायन हुन थालेको व्यवसायीहरू बताउँछन् । 


Author

थप समाचार
x