अर्थ / बाणिज्य

ट्रयाक्टरको ट्रलीमा 'मर्छन्' नागरिक, चुनावी मैदानमा गृहमन्त्रीलाई हेलिकप्टर !

पवन तिमिल्सिना |
बैशाख २४, २०७८ शुक्रबार १६:२० बजे

काठमाडौँ : २१ बैशाखमा थिनप्रसाद काफ्लेले एम्बुलेन्स नपाएर अकालमै ज्यान गुमाउनुपर्‍यो । पूर्वी नवलपरासीस्थित देवचुली नगरपालिका–१३ का काफ्लेले ट्याक्टरको ट्रलीमा दम ताेडे । कोभिड–१९ संक्रमण देखिएपछि घरमै आइसोलेसन बसिरहेका थिए उनी । थला परेपछि काफ्लेका परिवार सदस्यहरूले जिल्लाका सबै एम्बुलेन्सलाई खबर गरे । तर, कुनै एम्बुलेन्स आएन । 

६८ वर्षिया काफ्लेलाई साह्रो परेपछि परिवारले ट्रयाक्टरमा हालेर अस्पताल लैजाने निर्णय गरे । दुम्कौली अस्पताल लैजाँदै गर्दा काफ्लेको मृत्यु भयो । उनलाई ट्रयाक्टरमा ओसार्दै गरिरहेको कारुणिक दृश्य पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भए । सायद समयमा एम्बुलेन्स सेवा पाएको भए काफ्लेको ज्यान बच्न सक्थ्यो । यो घटनाको तीन दिन नबित्दै नागरिक सुरक्षाको प्रमुख जिम्मेवारी लिएका गृहमन्त्री रामबहादुर थापा हेलिकप्टरमार्फत् हेटौंडा पुगेर राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् ।


थिनप्रसाद काफ्लेले ज्यान गुमाउनुअघिको भिडिओ :

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन शुक्रबार हेलिकप्टर चढेर हेटौंडा पुगेका हुन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गराउन उनी सफल भए । तर, देशभर अस्पतालको मुखै नदेखी ज्यान बचाउन गुमाउन बाध्य कोभिड–१९ संक्रमित नागरिकको उद्दार गर्न असफल छन् ।

महामारीमा उपचार नपाएर सास्ती भोगिरहेका बिरामीप्रति संवेदनशीलता नदेखाउने सरकारी नेतृत्वमा बसेका व्यक्तिहरूले भड्किलो कार्यक्रम गर्न हेलिकप्टर चढेर राज्यकोषको दुरुपयोग गरेको थुप्रै उदाहरण छन् । आठ दिनअघि मात्रै कोभिड–१९ संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा लगाएको थियो । तर, सोही दिन सरकारका दुई मन्त्रीले हेलिकप्टर चढेर माथिल्लो तामाकोसीको पुगे ।

सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ बाँधस्थलको पानी सुरुङभित्र पठाउने बटन थिच्न आयोजनास्थल दोलखाको लामाबगर पुगेका थिए । यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सञ्चार मन्त्री गुरुङ गत आइतबार नै तामाकोसी आयोजनास्थल जाने निधो गरी कर्मचारीहरुलाई आवश्यक बन्दोबस्त गर्न निर्देशन दिइएको थियो । आयोजनाका कर्मचारी मन्त्रीद्वय आउन लागेको थाहा पाएर रुष्ट भएको समाचार इकागजले प्रसारित गरेपछि रायमाझीको भ्रमण आइतबारलाई रोकिएको थियो । हाल रायमाझी कोभिड–१९ संक्रमित भई उपचाररत छन् ।

नेपाली कांग्रेस दोलखाले भने पानी छिराउने उद्घाटन कार्यक्रम मन्त्रीद्वयको अनावश्यक भ्रमणको विरोध गरे । कांग्रेसले विज्ञप्ति नै जारी गरी पानीको बटन थिच्ने कामको अनुगमनका नाममा फजुल खर्च गराउने दोलखाकै सांसदसमेत रहेका मन्त्री गुरुङको कमदको घोर निन्दा र भर्त्सना गरेको हो । दोलखा कांग्रेसका सचिव सूर्यबहादुर आचार्य (बालकृष्ण) र सचिव सन्तोष रिमालको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई निषेधाज्ञा लगाएर घरभित्र राखेको सरकार कोरोना विरुद्ध लड्नुपर्नेमा आयोजनालाई खर्चको बोझ थप्ने गरी हेलिकप्टर चार्टर गरेर नियमित कामको निरीक्षणमा सरकारका दुई मन्त्री निस्किनुलाई नेपाली कांग्रेस दोलखा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’को संज्ञा दिन चाहन्छ ।’

मितव्ययीता सम्बन्धी मापदण्डको धज्जी उडाए

गत वर्ष कात्तिकमा अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने मापदण्ड, २०७७ जारी ग¥यो । सार्वजनिक पदमा बसेका पदाधिकारी तथा कर्मचारीले सवारीसाधनको खर्चमाथि अंकुश लगाउने उद्देश्यले यो मापदण्ड तयार पारिएको थियो । तर, गृहमन्त्री थापाले सार्वजनिक वित्तीय अनुशासनको धज्जी उडाउँदै हेलिकप्टरको प्रयोग गरेका हुन् ।

कार्यविधिले अति विशिष्ट पदाधिकारी (भीभीआइपी)ले प्रयोग गर्ने हेलिकप्टरको भाडा सरकारी कोषले नव्यहोर्ने उल्लेख छ । कार्यविधिमा भनिएको छ, ‘विपद्, महामारी, प्रकोप, उद्दार, शान्ति सुरक्षा वा अति विशिष्ट पदाधिकारी सहभागी हुनुपर्ने विशेष अवस्थामा बाहेक अन्य प्रयोजनमा प्रयोग भएको हेलिकप्टरको भाडा सरकारी कोषबाट भुक्तानी गर्न पाइने छैन ।'

पूर्व महालेखापरीक्षक शुकदेव भट्टराईले कार्यविधिमा उल्लेख भएभन्दा बाहिर हेलिकप्टर प्रयोगमा कडाइँ गरिएको बताए । ‘अतिविशिष्टले अत्यन्त विशेष परिस्थितिमा मात्र हेलिकप्टर प्रयोग गर्न पाउँछन्, गृहमन्त्रीले उम्मेदवारी दर्ता गर्न जाँदा चढेको हेलिकप्टरको शुल्क आफैंले तिर्नुपर्छ । मन्त्रालयले तिर्ने वा मन्त्रिपरिषद्ले निर्णय गरेर दिन मिल्दैन,’ उनले भने ।

निर्वाचन प्रयोजनका लागि हेलिकप्टरको प्रयोग गर्ने विषयमा निर्वाचन आचारसंहितामा ‘सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण’मा उल्लेख छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि खर्च गर्न पाउने सीमा १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

राष्ट्रिय सभा सदस्य पदको लागि हुने निर्वाचनमा भाग लिने प्रत्येक उम्मेदवारले निर्वाचन प्रचार–प्रसारको लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा चारवटा चारपाङ्ग्रे हलुका सवारी साधन र बढीमा चारवटा मोटरसाइकल वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा प्रचार–प्रसारको लागि राजनीतिक दलले आफ्नो तर्फबाट तीनजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था छ । राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्दा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको निर्वाचन खर्चको सीमा भित्र रही खर्च गर्न पाउने उल्लेख छ ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x