अर्थ / बाणिज्य

एफएनसीसीआई कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत्

इकागज |
चैत १०, २०७९ शुक्रबार ९:२४ बजे

विराटनगर - नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी राजेन्द्र राउत अध्यक्षमा सर्वसम्मत् चयन भएका छन् । झापाको विर्तामोडस्थित होटल सिद्धार्थमा भएको पाँचौं प्रदेश सभाबाट अध्यक्ष पदमा राउतसहित कार्यसमितिका सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।

कोशी प्रदेश समितिको जिल्ला-नगर उवासंघतर्फको उपाध्यक्षमा भिमबहादुर पौडेल र एशोसिएट्स/वस्तुगत संघबाट कुमार मणि पोखरेल उपाध्यक्ष चयन भएका हुन् । 
निर्वाचन समितिका संयोजक पुनम कुमार गुप्ताका अनुसार तोकिएको संख्यामा मात्रै उम्मेदवारी परेका कारण सवै पद सर्वसम्मत घोषणा गरिएको जानकारी दिए । कोषाध्यक्षमा सुवास आचार्य सर्वसम्मत भएका हुन् ।


त्यसैगरी सदस्यहरूमा जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरूको प्रतिनिधित्व गर्दै ध्रुवलाल श्रेष्ठ, विरेन्द्रकुमार साह, प्रितम खड्गी, प्रकाश सिवाकोटी र ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगततर्फबाट राजन श्रेष्ठ र दिपक पाण्डे तथा एशोसिएट्सबाट रविनकुमार दाहाल, भविश कुमार श्रेष्ठ र श्रवण कुमार अग्रवाल सर्वसम्मत् सदस्य बनेका हुन् ।

महासंघको विधान अनुसार अध्यक्षले थप तीन सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेकोले कार्यसमितिको संख्या १७ जनाको हुनेछ । अध्यक्षमा निर्वाचित राउत एक महिनाअघि मात्रै उदयपुर उद्योग बाणिज्य संघको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । महासंघको विधानमा प्रदेशको अध्यक्ष बन्न कुनै न कुनै जिल्ला तथा नगर संघको अध्यक्ष भएको हुनुपर्ने व्यवस्था रहेको थियो । 

अध्यक्षमा निर्वाचित राउत विराटनगरका अग्रणी उद्योगी व्यवसायी हुन् । राउत शिवम् अर्गनाइजेशन अन्तरगत शिवम् फुट वेयर र अन्नपूर्ण सिमेण्ट लगायतका उद्योग संचालक र अन्य व्यवसायका लगानीकर्ता पनि हुन् । 

नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्व चयनसहित हुन लागेको केन्द्रीय साधारणसभामा उद्योगी व्यवसायीहरूबीच सर्वसम्मत नेतृत्व चयन गर्ने अभ्यास सुरु गरिएको पूर्वअध्यक्ष एवं सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालले बताए । उनले सात प्रदेश समिति मध्ये कोशी प्रदेशसहित ६ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए । 

३४ वटा जिल्ला र नगर उद्योग बाणिज्य संघ, १२ वटा वस्तुगत संघ र १२१ वटा एसोसिएट्स सदस्यहरूको प्रतिनिधित्व रहेको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको पाँचौ जिल्ला सभाको उद्घाटन पनि ढकालले नै गरेका थिए । 

उनले नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वले उठाउनु पर्ने उद्योगी व्यवसायीका मुद्दाहरू क्रमशः कमजोर बन्दै गएको बताए । एउटा संगठन हुँदाहुँदै अर्को संस्था जन्माउने परम्परा बढेका कारण महासंघका समक्ष नेतृत्व निर्माण हुन नसकेको दाबी गरे ।

‘एफएनसीसीआई कमजोर भएको छ, अब सशक्त बनाएर अघि बढ्नैपर्छ’ उनले भने, ‘केही कमजोरी हाम्रैतर्फबाट पनि भएको होला, तर क्षमता पनि हामीसँगै छ, अब समस्या समाधान गरेर सबै मिलेर अघि बढ्नुको विकल्प छैन ।’

अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित पाँचौ प्रदेश सभाबाट निर्वाचित अध्यक्ष राउतसहितका पदाधिकारीहरूको पदस्थापन भने बाँकी रहेको जनाइएको छ ।


Author

थप समाचार
x