अर्थ / बाणिज्य

आर्थिक मन्दीका कारण सुनसान बने बाँकेका मुख्य बजार

इकागज |
चैत ११, २०७९ शनिबार १४:३२ बजे

काठमाडौँ- बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ ।

बैंकहरूले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरूले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्यून हुँदै गएको हो ।


भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्यभन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरू बताउँछन् । आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरूको आरोप छ ।

आर्थिक मन्दीमा पनि सरकारले आवश्यक चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताए । उनले अनलाइन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्यून हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताए । खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताइन् ।

उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गरिन् । आर्थिक संकट बढ्दै जानु र व्यापारीहरूलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरूको गुनासो छ । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए । उनले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरूले व्यवसायीहरूबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरू ठप्प हुनु रहेको उल्लेख गरे । 

व्यापारीहरूले लिएको कर्जामा बैंकहरूले एक्कासि दोब्बरको हिसाबले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरूको माग छ ।  


 


Author

थप समाचार
x