वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ भन्छन्- अनुभवको आधारमा नेतृत्व लिन तयार छु
कपिलवस्तु- नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरूले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा आयोजित 'लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक' कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए ।
सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पुँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए । उनले बैंकले उद्योगीहरूसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग गरे ।
'उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशतभन्दा धेरै लिन नपाइने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानुन लागू गरेर दु:ख दिइन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्' वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले भने ।
निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको उनले बताए । आफूले लुम्बिनी प्रदेशमा लगानी विस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब आफूले नेतृत्व गर्ने पालो आएको बताए । 'म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ । यसले मलाई परिपक्व बनाएको छ र सोही अनुभवको आधारमा आफूले नेतृत्वमा दाबी गरेको हुँ' श्रेष्ठले भने ।
देशको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशिल बनाउने भन्नेमा राज्य लाग्नुपर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । 'पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशतभन्दा धेरै र सरकारको योगदान न्यून मात्र छ । त्यसले देशको पुँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ' उनले भने ।
सरकारले अर्थतन्त्रलाई सुदृढ गर्नका लागि आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारण खर्चमा मात्र हेर्न नहुने बताए । 'अहिले तीनै तहका सरकारहरूसँग ३५१ अर्ब रुपैयाँ रहेको छ यो रकमबाट सरकारले खर्च गर्न सक्दछ। र अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सक्दछ' उनले भने ।
अर्थतन्त्रलाई कसले गति दिने भन्ने महत्वपूर्ण विषय भएको भन्दै थापाले सरकारले नै पहल गर्नुपर्ने बताए । उनले देशभित्र उद्योग व्यवसाय दर्ता र सञ्चालनको लागि सहज व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसकेको वा सुधार गर्न नचाहेको बताए । उनले विश्वमा ठूला आर्थिक मन्दीबाट सबै देशहरूले सिके पनि हामीले कहिले पनि सिक्न र सुधार गर्न नसकेको बताए ।
उनले यसको लागि संस्थागत अभ्यासमा सुधार गर्नुपर्ने र यथार्थवादको अन्त्य गर्नुपर्ने बताए । 'विश्वका सबै देशहरूले आर्थिक मन्दी र चुनौतीबाट पाठ सिकेर नयाँ नीति र व्यवस्था गर्ने गरेको भएपनि हामीले कहिले सिक्न चाहेनौं' सांसद झाले भने, 'हामीले के सिक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने निश्चित हुनुपर्दछ ।'
उनले उद्योग व्यवसायलाई गाउँगाउँमा पुर्याउनुपर्ने भन्दै औद्योगिक क्षेत्रमा पनि संघीयतालाई कार्यान्वयन गर्न अनुरोध गरे । कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले निजी क्षेत्रको माग र समस्यालाई सम्बोधन गर्न र आन्दोलनको रुपमा अगाडि बढाउन पनि अन्जन श्रेष्ठको नेतृत्व आवश्यक भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया