अर्थ / बाणिज्य

खोप खरिदको अन्तर्कथा–४

फ्याक्ट्री आगलागी भएपनि एक महिनापछि पठाएको थियो सिरमले १० लाख डोज खोप

इकागज |
बैशाख २५, २०७८ शनिबार १५:५० बजे

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियामा यसै वर्ष जनवरी २१ (माघ ८) मा आगलागी भयो । आगलागी लगत्तै महामारीबाट बचाउन प्राणरक्षक खोपको उत्पादनमा कस्तो असर पलाए भन्ने विश्वव्यापी चासो थियो । 

त्यसलाई सम्बोधन गर्दै सिरम इन्स्टिच्यूटका सीईओ आदर पुनावालाले उक्त दिन ट्वीट लेखेर ‘आगलागीले कोभिशील्ड खोपको उत्पादनमा ठूलो असर नपर्ने र यस्ता आकस्मिकताहरू सामना गर्न कै लागि उत्पादनको काम धेरै भवनहरूबाट भइरहेको’ उल्लेख गरेका छन् ।


उनको सोही प्रतिवद्धता बमोजिम नै नेपालले खरिद सम्झौता गरेको १० लाख डोज भ्याक्सिन फागुन ५ मा पठाएको देखिन्छ । फेरि सिरमले डिसेम्बरसम्म नै ४-५ करोड डोज भ्याक्सिन उत्पादन गरिसकेको थियो । नेपालसँग मात्र नभएर विश्वका धेरै देशहरू र विश्वव्यापी खोप सहकार्य (कोभ्याक्स) सुविधाका लागि खोप दिने वाचा सिरमले गरेको थियो । सिरमले नेपालमा सम्झौता भएर पहिलो चरणमा १० लाख डोज खोप पठाइसकेकोमा बाँकी १० लाख डोज नपठाउनुमा आगलागीको कारण भने प्रबल देखिदैंन । यद्यपि सिरमले स्वास्थ्य सेवा विभागलाई पठाएको पत्रमा भने आगलागी र सोच अनुसारको क्षमता विस्तार हुन नसक्नुलाई कारक भनिएको छ । 

अब स्वास्थ्य मन्त्रालयले औपचारिक रूपमा उक्त वक्तव्य दिएर सिरमलाई बाँकी १० लाख खोप पनि आफ्नो सुविधा अनुसार पठाउन सहमति दिएको शैलीमा आएको विश्लेषण सार्वजनिक वृत्तमा छ । भारतमा कोभिड-१९ को दोस्रो लहर नआउँदै सिरमले फागुन १९ गते (मार्च ३) मा पत्र पठाएर मध्य-अप्रिलसम्म बाँकी खोप कहिले दिने जानकारी गराउने वा त्यो नचाहे नेपालले आफ्नो पैसा फिर्ता लिन सक्ने विकल्प दिएको देखिन्छ । भारतमा कोभिड-१९ को दोस्रो लहर देखापरेपछि प्रभावित भएको खोप निर्यात भारतले नयाँ संक्रमितहरूको संख्यामा कमी आए जुन महिना देखि पुनः सुचारु हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

सरकारले यसअघिसम्म सिरमसँग सम्झौता अनुसार बाँकी १० लाख डोज खोप लिन प्रयास गरिरहेको र सम्झौता अनुसार खोप नपठाए नेपालको खोप अभियान प्रभावित हुने भन्दै सिरमसँग पत्राचार गरेको बताउने स्वास्थ्य मन्त्रालयले शुक्रबारको विज्ञप्तिले एकसाथ सिरमसँग बाँकी खोप भित्र्याउनेभन्दा पनि सिरमकै पत्रमा भएका बहानाबाजीलाई सदर गरेको देखिएको छ । भारतले कोभिड-१९ का नयाँ संक्रमितहरूको संख्या कम भएसँगै जुन महिनाबाट खोप निर्यात सुचारु गर्ने तयारी गरेपनि नेपालले भने बाँकी सम्झौतीत खोप लिन पहल गरिरहेको छ भन्ने सन्देश उक्त विज्ञप्तिबाट पाइँदैन । त्यस्तै, स्वास्थ्य मन्त्रालयले हालको अवस्थामा ५० लाख खोप पनि ल्याउन सक्ने अवस्था छैन भनेको छ । 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सिरमसँग सम्झौता भएकोमध्ये बाँकी १० लाख र खोप उत्पादक कम्पनीसँगै ५० लाख खरिद गर्ने प्रक्रिया अघि बढाएकोमा कमिसन एजेन्टले भाँडेको भनि दिएको अभिव्यक्तिकै विपरित गएर मन्त्रालय मातहतको औषधी व्यवस्था विभागले सरकारले अघि बढाएको खोप खरिद भाँडेको भनिएका कमिसन एजेन्टलाई नै सिरमबाट खोप ल्याएर बेच्न अनुमति दिएको छ । 

कहिले महामारीमा स्वास्थ्य पूर्वाधारले धान्दैन भन्दै हात उठाउने त कहिले सरकारले खोप ल्याउन सक्दैन भन्ने अभिव्यक्ति दिएर सरकारले महामारीमा जनतालाई आतंकित तुल्याउने काम गरेको छ । ‘अब खोप ल्याउन निजी क्षेत्रका लागि स्वास्थ्य मन्त्रालयले शुक्रबारको विज्ञप्ति नै कसका लागि र किन प्रकाशित गरेको हो भन्नेमा नै प्रश्न उठेको छ । 

 

 


Author

थप समाचार
x