अर्थ / बाणिज्य

जलविद्युत आयोजना तोडफोड : सुरक्षाको प्रत्याभूति गराउन र क्षतिपूर्ती भराउन इप्पानको माग

इकागज |
चैत १६, २०७९ बिहीबार १७:२२ बजे

काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट) को हेडवर्क साइटमा गरिएको तोडफोडको क्षतिपूर्ती भराउन माग गरिएको छ । आपराधिक समूहले गरेको तोडफोडबाट भएको क्षति भराउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले माग गरेको हो ।

तोडफोडका क्रममा समूहले त्यहाँ रहेका कर्मचारीमाथि हातपातसमेत गरेका थिए । तोडफोडबाट २५ लाख क्षति भएको र कुटपिटबाट घाइते भएका कर्मचारीको उपचार गराउन इप्पानले स्थानीय प्रशासनसँग माग गरेको हो ।


इप्पानले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण गराउनुका साथै घाईते हुनुभएका आयोजनाका कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत ईप्पान स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ ।’

१४ चैतको मध्य रातमा एक समूह आयोजनाको हेडवर्क साइटमा पसेर तोडफोड गरेको थियो । आपराधिक घटनामा संलग्न व्यक्तिहरूले कानूनी कारबाही अगाडि बढाएमा थप आक्रमण गर्ने धम्की दिएकोप्रति पनि इप्पानले ध्यानाकर्षण गराएको छ ।

धम्की आएकाले कर्मचारीहरू भयभित रहेको र शान्ति सुरक्षाको प्रत्याभूति नहुँदा काम गर्ने मनोबल नरहेकाले नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायले सम्पूर्ण कर्मचारी र आयोजनाको सम्पत्तिको सुरक्षाको व्यवस्था अबिलम्ब मिलाई सुरक्षाको प्रत्याभूति गराउन माग गरिएको हो ।  

‘विगतदेखि नै जलविद्युत आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको श्रृङ्खलाबद्धरुपमा सामना गरिरहनुपरेको छ । प्रवर्द्धक एवम् कर्मचारीहरूलाई मानसिक र भौतिक रुपमा डर, त्रास पैदा गराउन बिभिन्न बहानालाई आधार बनाएर आयोजनालाई गम्भीर क्षति पुर्‍याउने र अवाञ्छित लाभ लिने नियोजित उद्देश्यले त्यस खालका आपराधिक, उच्छृङ्खल, अराजक र उदण्ड गतिविधि हुने गरेका छन् । यस प्रकारका आपराधिक गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रवाह हुनुको साथै  समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

परियोजनाहरूको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरूलाई निरुत्साहित गर्न सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरूमा यस्ता कार्यहरू निरुत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग इप्पानको छ । 

‘तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडा कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने व्यवस्था मिलाउन ईप्पान सरकारसँग जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x